लन्डन । तमुधीं यूकेले २५ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना गरेको २३ औं गोर्खा कपमा सहभागी भएर नेपाली चर्चित फुटबलर सावित्रा भण्डारी 'साम्बा' फर्किएकी छन् ।
'साम्बा' हिथ्रो एयरपोर्ट हुँदै मंगलबार २७ मेमा सिधै थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरेकी हुन् । साम्बालाई बिदाइका लागि तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङको परिवारलगायत हिथ्रो पुगेका थिए ।
साम्बालाई मिचेटस्थित तमुधीं भवनमा सोमबार साँझ २६ मेमा एक कार्यक्रमबीच तमुधीं यूकेले स्वागत तथा सम्मान गरेको थियो । साम्बाले बेलायतमा उच्च सम्मान पाएको भन्दै तमुधीं यूकेको प्रशंसा गरिन् । 'लाइफमा यत्तिको स्वागत र सम्मान पाएको थिएनँ । यो विशेष सम्मानका लागि तमुधीं यूकेका आदरणीय अध्यक्ष जुमकाजी गुरुङसहित सम्पूर्ण कार्यसमितिलाई धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।'
उनलाई बेलायतमा ल्याउने ट्राभलिङ खर्च र खाना, बस्ने प्रबन्ध सूर्य गुरुङको नेतृत्वमा रहेको पिपल ग्रुपले गरेको थियो ।
साम्बा तमुधीं यूकेकै निमन्त्रणामा २५ मे मा आयोजित २३ औं गोर्खाकपका लागि २२ मेमा बेलायत आएकी थिइन् ।
यसैबीच, मंगलबार नै बेलायतबाट कलाकारद्वय शितल गुरुङ, बिमला गुरुङ र पत्रकार आश गुरुङ पनि नेपाल फर्किएका छन् । आश गुरुङ ग्रेटर रसमुर नेपाली कम्युनिटी यूकेको निमन्त्रणामा डेढ महिना अगाडि यूके आएका थिए । शितल र बिमला गोरखा जिल्ला गुरुङ समाज यूकेको निमन्त्रणमा करिब ६ महिनाअघि बेलायत आएका थिए ।

पत्रकार आशलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, व्यवसायीसमेत रहेका एनआरएनए आईसीसी सदस्य दिलराज गुरुङलगायत हिथ्रोमा बिदाइ गरेका थिए ।

बिमला र शीतलको बिदाइका लागि गोरखा जिल्ला गुरूड समाज यूकेका सल्लाहकारहरु राजकुमार गुरुङ,टकमान गुरुङ,धन गुरुङ, खेमन गुरुङ, पूर्वअध्यक्ष फडकजीत गुरुङसहित दिनेश गुरुङ, गणेश गुरुङ, रोशिला,पबित्रालगायत एयरपोर्ट पुगेका थिए ।