पोखरा । नवौँ संस्करणको पोखरा स्पोर्टस अवार्डमा भलिबलका अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न अवार्डमा उत्कृष्ट घोषित हुँदै अरुणा र विश्वासले टेलजी इलेक्ट्रिक स्कुटरको साथमा अवार्ड प्राप्त गरेका हुन् ।
अरुणा नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । राष्ट्रिय प्रतियोगिताहरूमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको मालदिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन्।
विश्वास गण्डकी प्रदेशका मिडलब्लकर हुन् । नवलपुर बौद्धिकाली गाउँपालिका-३ बाँझोबारीका उनी दुई वर्षअघि गण्डकी प्रदेशको टिममा डेब्यु गरेका थिए । विश्वासले श्रीलंकामा भएको काभा यू२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए ।

महिलातर्फ अरुणासँगै आईटीएफ तेक्वान्दो/मुवाथाइकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ मनोनयनमा परेका थिए । पुरुषतर्फ टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पनि मनोनयनमा परेका थिए ।
यसैगरी, उदीयमान खेलाडीको अवार्ड क्रिकेटकी रचना चौधरीले प्राप्त गरेकी छन् । यसमा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए ।
उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका राजेन्द्र तामाङले पाए । उनले टेनिसका नीरज थापा र भलिबलका रमेश केसीलाई पछि पार्दै अवार्ड जितेका हुन् । उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त गर्यो ।

वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड विजय नेपालले पाए । उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, खेल संस्था र पत्रकारले ३५ हजार रुपैयाँसहित अवार्ड प्राप्त गरेका छन् ।
मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट सुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो ।
मञ्चले खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस अवार्ड वितरण गर्दै आइरहेको छ ।