पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ पर्यटकीय ल्वाङगाउँमा सम्पन्न पुरुष भलिबलको उपाधि यूके लन्डनले जितेको छ ।
चैत २४ गतेदेखि सुरु भएको ऐतिहासिक ३१औँ चैते दसैँ मेलाअन्तर्गत शनिबार भएको फाइनलमा यूके लन्डनले र घाचोकलाई ३–२ को सेटमा हराउँदै उपाधि जितेको हो ।
उपाधिसँगै लन्डनले नगद १ लाख १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । घाचोकले नगद ६० हजार तथा सान्त्वना बनेको टी गार्डेनले नगद २० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
उक्त खेलबाट सर्वोत्कृष्ट खेलाडीका रूपमा यूके लन्डनका कमल सुनारलाई पुरस्कृत गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । उनका अनुसार उत्कृष्ट सर्भरका रूपमा सोही टिमकै संजोग परियार, उत्कृष्ट सेटरका रूपमा यूके लन्डनकै देवेन्द्र परियार, उत्कृष्ट लिब्रोका रूपमा सोही टिमकै राजन दर्लामी मगर पुरस्कृत भए ।

उत्कृष्ट स्पाइकरका रूपमा घाचोकका मिलन विक र उत्कृष्ट ब्लकरका रूपमा सोही टिमकै देवेन्द्र कुँवर पुरस्कृत भए । पुरुष भलिबलतर्फ कुल २४ टिमको सहभागिता थियो ।
खेल संयोजक अनोद गुरुङका अनुसार महिलातर्फ हिमशिखर क्लब धम्पुसले बौद्ध सिर्जना क्लब घलेललाई ३–० को सोझो सेटले हराउँदै धम्पुस च्याम्पियन बन्यो । उनले नगद २० हजार तथा उपविजेता घलेलले नगद १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणत्र हात पारे ।
विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, वडा सदस्य अर्जुन परियार, माछापुच्छ्रे गाउँपालिका खेलकुद संघका सदस्य सचिव हुमबहादुर गुरुङ, क्लबका अध्यक्ष सुजन गुरुङ, स्थानीय अग्रजले पुरस्कार वितरण गरेका थिए ।
मेलामा लोक तथा दोहोरी गायिका मञ्जु विक, कृष्ण सुवेदीलगायतले प्रस्तुति दिएका थिए ।