पोखरा । ग्रिनहिल युवा क्लबको आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१औँ चैत दशैँ मेला जारी छ।
मेलामा भइरहेको पुरुष भलिबलमा युके लन्डन, टी गार्डेन र घाचोक सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको क्वार्टरफाइनलमा युके लन्डनले घाचोक टिम ‘बी’लाई २–० को सोझो सेटमा पाखा लगायो।
टी गार्डेनले सिदिङलाई पनि २–० कै सेटमा हरायो भने पञ्चासेलाई २–१ को सेटमा स्तब्ध पार्दै घाचोक अन्तिम चारमा पुग्यो।
क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार आज भिचोक र पुलामुखबीचको अन्तिम क्वार्टरफाइनल खेल हुनेछ। उक्त खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि घाचोकसँग प्रतिस्पर्धा गर्नेछ। टी गार्डेनले युके लन्डनको सामना गर्ने खेल संयोजक अनोद गुरुङले जानकारी दिए ।
यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेका छन्। पुरुषतर्फको विजेताले १ लाख १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन्।
उपविजेताले ६० हजार तथा तृतीयले २० रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र पाउनेछन्। सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।
यसैगरी, महिलातर्फ प्रथम र दोस्रो हुने टिमले क्रमश: २० हजार र १० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणत्र पाउनेछन्।