काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा चैत ३० गते दोस्रो संस्करणको ‘पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि दुरीमा दौड हुनेछ ।
खुला दौडतर्फ पुरुष र महिला दुवैका विजेता खेलाडीले २२ हजार, दोस्रो हुनेले १६ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । ५ किमि दुरीको छात्रछात्रा दौडतर्फ विजेता हुनेले ११ हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड ‘घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क’ पुगेर सोही रुट घलेभन्ज्याङ आएर सकिनेछ । पञ्चकन्या–४ मा निर्माण गरिएको घ्याङ्स्वाँरा सहिद स्मारक पार्कको प्रचारप्रसार तथा जनकल्याण शैक्षिक अक्षयकोष स्थापनाको सहयोगार्थ दौड प्रतियोगिता गरिन लागेको समाजका अध्यक्ष टीकाराम तामाङले बताए ।
सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडी सम्मान र चर्चित कलाकार रामहरि भण्डारी, मिना लामा, रामेश्वर भण्डारीलगायतको साथमा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
सहभागी हुन चाहनेका लागि नाम दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी गराए । उनका अनुसार चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट समेत फर्म भर्न सकिने व्यवस्था मिलाइएको छ । फाराम शुल्क खुलातर्फ ५ सय र छात्रछात्राले ३ सय रुपैयाँ तिर्नुपर्नेछ । सहभागीलाई नि:शुल्क टिसर्ट र खानाको व्यवस्था गरिनेछ ।
गत वर्ष फागुन ५ मा भएको पञ्चकन्या क्रसकन्ट्री दौडमा पञ्चकन्या–३ की एलिसा तामाङ र लिखु गाउँपालिका–४ का सुदीप राई च्याम्पियन बनेका थिए । महिला ११ किमि दूरी एलिसाले १ घन्टा १३ मिनेट ४१ सेकेन्ड र पुरुषतर्फ सुदीपले ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका थिए । पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमि दौडमा पञ्चकन्या–१ की सविना राईले ३४ मिनेट १३ सेकेन्डबाट छात्रातर्फ र किरण तामाङले २३ मिनेट १३ सेकेन्डबाट छात्रतर्फ उपाधि जितेका थिए ।
नेपालका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । २०६६ मा स्थापित पञ्चकन्या जनकल्याण युवा समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृतिलगायत क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।