लन्डन । तमुधीं यूकेले आगामी २५ मेमा हुने गोर्खा कप तयारीबारे छलफल गरेको छ ।
मिचेटस्थित तमुधीं भवनमा १६ मार्च २०२५ मा अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव डा. विशाल गुरुङले बैठक सञ्चालन गरेका थिए ।
बैठकमा खेलकुद सचिव क्या दिपक घलेले स्लाइड शोमार्फत गोर्खा कपको अहिलेसम्मका तयारी र आउँदो दिनमा गर्नुपर्ने कार्यबारे जानकारी गराएका थिए । ओआईसी हिरा गुरुङ, एसिस्टेन ओवाईसी कुमार घलेलाई जिम्मेवारी तोकिएको थियो । हिराले गोर्खा कपमा पहिलो पटक जिम्मेवारी पाएकोले आफूलाई खुसी लागेको बताउँदै मार्गनिर्देशन गर्न आग्रह गरे ।
यस्तै सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ र निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङले गोर्खा कपलाई सहयोग गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
तमुधीं यूकेको ठूलो कार्यक्रममध्ये एक गोर्खा कप २५ मेको बिहान ८ देखि राति ८ बजेसम्म तोकिएको छ । खेल क्वीन्स एभिन्यू स्पोर्ट्स फिल्ड अल्डरसट ह्याम्पसायरमा हुनेछ । प्रतियोगितामा गोर्खा कप मुख्य टिम, भेट्रान टिम, महिला टिम खेलाइनेछ । मुख्य विधाका विजेताले ३ हजार पाउन्ड र फस्ट रनरअपले १ हजार ८ सय पाउन्ड पुरस्कार पाउने छन् ।
उक्त प्रतियोगिताका लागि ६ अप्रिलमा टिम दर्ता र स्टल बुकिङ खुलाइने छ । टिम दर्ताका लागि कुमार घले र ट्रेडिङ तथा स्टल दर्ताका लागि उपाध्यक्ष दिलमाया गुरुङलाई जिम्मेवारी दिइएको छ ।
यस्तै भेट्रानका विजेताले १ हजार ५ सय र फस्ट रनरअपले १ हजार पाउन्ड जित्ने छन् भने महिला तर्फका विजेताले ६ सय पाउन्ड र फस्ट रनरअपले ४ सय पाउन्ड पुरस्कार पाउने आयोजकले जनाएको छ ।
यस्तै बैठकमा अध्यक्ष जुमकाजी गुरुङले हालै तमुधीं यूकेले नेपाल भ्रमणका क्रममा गरेका कार्य र सहभागिताका विषयमा संक्षिप्त रुपमा स्लाइड शोमार्फत जानकारी गराएका थिए । अध्यक्ष गुरुङले बैठकमा सहभागीलाई धन्यवादसहित समापन गरेका थिए ।