काठमाडौँ। नेपालमा पहिलोपल्ट आयोजित नयाँ स्वरूपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले जितेका छन् । उनले फाइनलमा क्यान्डिडेट मास्टर (सीएम) मिलन लामालाई पराजित गरेका हुन् ।
‘बेस्ट अफ थ्री’का आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितिजले सुरुआती दुवै खेल जितेर २–० ले मिलनको चुनौती समाप्त पारे । उनले सेमिफाइनलमा पुनम प्रसाईँलाई पराजित गरेका थिए भने मिलनले सुजन काफ्लेलाई हराएर उपाधि होडको यात्रा तय गरेका थिए । पूर्वविश्व चेस च्याम्पियन बबी फिसरले सुरु गरेको फ्रिस्टाइल चेस प्रतियोगिता नेपालमै पहिलोपल्ट आयोजना गरिएको आयोजक हिमालयन चेस एकेडेमीले जनाएको छ ।
यसमा उपाधि विजेता क्षितिजले २५ हजार, उपविजेता मिलनले ९ हजार ६००, सेमिफाइनलमा रोकिएका पुनम र सुजनले समान ६ हजार ४०० रुपैयाँ प्राप्त गरे । हिमालयन चेस एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आयोजित कुल १ लाख २५ हजार रुपैयाँ पुरस्कारको अर्को प्रतियोगिता ‘हिमालयन ब्लिज कप’ को उपाधि राजन पुरीले जिते । स्वीस प्रणालीको आधारमा नौ राउन्ड सञ्चालित ब्लिज कपमा अपराजित रहँदै ७.५ अंक जोडेर राजनले पहिलो स्थान हात पारेका हुन् ।
सात जित र दुई हारको नतिजासहित ७ अंक बनाएका अभिक शाह तेस्रोमा रहे । राजनले १५ हजार, मुहानले ७ हजार ५०० र अभिकले ६ हजार रुपैयाँ हात पारे । १६ स्पर्धा समावेश ब्लिजमा महिलातर्फको उपाधि कुसुम तामाङले जितिन् । गल्र्सतर्फ यू८ मा रुबेश्री चौलागाइँ, यू१२ मा निहाना श्रेष्ठ, यू१४ मा नायुमा मगर र यू१६ मा प्रज्ञा पन्त प्रथम भए । ब्वाइजतर्फ यू८ मा शुभांग प्रधान, यू१० मा अभियान राई, यू१२ मा दीपन मैनाली, यू१४ मा प्रवीर केसी र यू१६ मा अनमोल राई पहिलो स्थानमा रहे ।
त्यस्तै, फिडे रेटिङ २००० मुनि सीताराम अग्रवाल, १७०० मुनि कृश अधिकारी, अनरेटेडतर्फ दिप्सन खड्का र एचसीएतर्फ आशीर्वाद थापा उत्कृष्ट ठहरिए । प्रतियोगितामा ५० खेलाडी सहभागी थिए । सात्विक वर्षका सर्वोत्कृष्ट खेलाडी हिमालयन चेस एकेडेमीले वर्षका उत्कृष्ट खेलाडीसँगै विभिन्न आठ अवार्ड पनि प्रदान गरेको छ । जसमा सात्विकमान तुलाधरले प्लेयर अफ दि इयर २०२४ अवार्ड जितेका छन् । प्रेमविक्रम अधिकारी दुई विधामा अवार्ड जित्ने एक्लो खेलाडी बने । उनले फेयर प्ले र अनलाइन एरिना अवार्डमा सफलता हात पारेका हुन् ।
नायुमा मगरले कन्जेनियालिटी अवार्ड, प्रवीर केसीले ट्याक्टिकल टाइटन, निहाना श्रेष्ठले क्वीन्स अफ दि हिमालयज र शुभांग प्रधानले राइजिङ स्टार अवार्ड जिते । एकेडेमीले नेपालको पहिलो फिडे रेटेड खेलाडी सीताराम अग्रवाललाई लाइफटाइम एचिभमेन्टबाट नगदसहित सम्मान गर्यो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, पहिलो राष्ट्रिय चेस च्याम्पियन विकासमान लामा, एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ, करातेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, फुटबल लिजेन्ड हरि खड्का, पेमा डोल्मा लामा, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष सरोजकुमार मुल्मी, काठमाडौँ महानगरपालिका-११ का अध्यक्ष हिरालाल तण्डुकर, एकडेमीकी संस्थापक एवं नेपाल बुद्धिचाल महासंघकी उपमहासचिव मोनालिशा खम्बूले पुरस्कार तथा अवार्ड वितरण गरेका थिए ।
२०८० साल चैत १ गते उद्घाटन गरिएको हिमालयन चेस एकेमेडीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गरेको छ । उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओपछि हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप र हिमालयन ब्लिज कप सफलतापूर्वक आयोजना गरेको हो ।
बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १०० भन्दा बढीलाई काठमाडौँ महानगरपालिका ११, थापाथलीस्थित आफ्नै चेस हलमा नियमित ट्रेनिङ दिइरहेको छ । एकेडेमीले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ ।
भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक बुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ । स्कुल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।