पोखरा । ‘मौनतामा अल्झिरहेको एउटा जीवन
कहाँ जाने ? कसलाई सोध्ने ? कस्लाई खोज्ने ?...’
यो गीत गुञ्जाउँदै गायक ओमविक्रम विष्ट पोखरामा झुल्किएका छन् । २०३० को दशकदेखि नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाएका उनका गीतले फेवाताल किनार गुञ्जियो । पोखरामा भेला भएको साहित्यपारखी मन्त्रमुग्ध भए ।
ओमविक्रमलाई पोखरामा गुञ्जाउने चाँजोपाँजो मिलाएको हो, १२ औं संस्करणको एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभलले । फागुन १५ गतेदेखि जारी फेस्टिभलको तेस्रो दिनको साँझ संगीतमय बन्यो । ओमविक्रमलाई सुन्न पोखरामा नयाँ र पूराना दुवै पुस्ताका दर्शक थिए ।
सांगीतिक साँझको सुरुआतमा पत्रकार बसन्त थापा र ओमविक्रमबीच भलाकुसारी भयो । शनिबार साँझ फेवाताल किनारमा गुञ्जिएका उनी १७ वर्षदेखि अमेरिकामा छन् ।
उनले आफूले १० वर्षको उमेरदेखि संगीतमा लागेको बताए । ‘१० वर्षको उमेर हुँदा बुवाले ल्याइदिएको गितार औंलाबाट रगत आउन्जेल बजाएर सिके । त्यो गितार त घरमा सजाउने रहेछ !’, मुस्कुराउँदै उनी फ्ल्यासब्याक भए, ‘संगीतमा बच्चैदेखि रुची । त्यसै पनि मेरो रगरगमा संगीत थियो ।’
११ वर्षको उमेरमा पहिलो पटक स्टेज चढेर गीत सुनाएको ओमविक्रमले सम्झिए । ओमविक्रमसँगै अनिल शाहीको समूह र सोनागी ब्लुजको सांगीतिक प्रस्तुतीमा दर्शक रमाए ।
अनिल शाहीको समूहले प्रस्तुत गरेको सांगीतिक धुनले चिसो मौसमलाई ततायो । संगीतको धुनले मन छोएपछि उपस्थित दर्शकले ताली र हुटिङले सम्मान गरे । त्यसपछि भूपी कक्षमा गुञ्जिएको ‘आउ बसौं थकाइ मारौं’ले झनै रौनक बढायो । पोखरेली गायक स्वर्गीय झलकमान गन्धर्वको गीतमा मिठास भरेर पस्कँदा पोखरेली हुरुक्कै भए ।
‘राजनीति र साहित्यको आयाम’मा मोहनविक्रम सिंह र पत्रकार विजयकुमारबीचको वार्तालापबाट शनिबारका सेसनको सुरुआत भएको थियो ।
अन्त्यमा ‘कामशूत्रः रस, रति र रहस्य’ मा शिव संकल्प र भूषिता वशिष्ठको गन्थनमन्थ सकिएसँग सांगीतिक साँझले तेस्रो दिनको बिट मारिएको हो ।