पोखरा । पोखरामा माघ २२ देखि हुने २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको टाइसिट सार्वजनिक भएको छ ।
सहारा क्लब पोखराले यही माघ २२ देखि सञ्चालन गर्ने प्रतियोगितामा १२ टिमले भाग लिनेछन् । भारत, यूके, उज्बेकिस्तान टिमसहित नेपालका ए डिभिजन क्लबको सहभागिता रहनेछ ।
बिहीबार सार्वजनिक टाइसिट अनुसार उद्घाटन खेल आयोजक र विभागीय नेपाल पुलिस क्लबबीच हुनेछ । फागुन ३ मा हुने फाइनलअघि माघ ३० मा पहिलो सेमिफाइनल र १ फागुनमा दोस्रो सेमिफाइनल हुनेछ ।
समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधै क्रमशः पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्ने छन् ।
समूह ‘बी’मा एपीएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रि स्टार र उज्बेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थि स्टार र उज्बेकिस्तानले सिधै क्रमशः दोस्रो र चौथो क्वार्टरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ उद्देश्यका साथ २०५५ सालमा स्थापित क्लबले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ । आहा रारा नेपालमै निरन्तर भइरहेको फुटबल प्रतियोगिता हो ।
प्रतियोगिताबाट बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्चिने क्लब अध्यक्ष केशवराज बरालले बताए । हाल एकेडेमीमा ३० जना बालक आश्रित छन् ।