काठमाडौँ । पोखरामा हुने १४औँ अन्तर्राष्ट्रिय भेट्रान्स ८-ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
बगर भाइखलकको आयोजनमा पोखराको टुँडिखेलमा माघ १५ देखि २१ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बगर भाइखलकले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा विदेशीसहित ३९ टोलीको सहभागिता रहने भाइखलकका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।
बगर भाइखलकले ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरूका लागि नौलो आयाम’ नाराका साथ २०६८ सालदेखि भेट्रान्स फुटबल आयोजना गर्दै आएको महासचिव गुरुङले बताए । महासचिव गुरुङले ४० वर्षदेखि ७० वर्ष उमेर समूहका पाका खेलाडीहरूको खेलबाट नयाँ पुस्तालाई खेलकुद प्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्यसमेत राखेको बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा चिरायु नेसनल अस्पताल र सहप्रायोजकमा बगर भाइ खलक युके रहेको छ ।
तीन विधामा हुने अन्तर्राष्ट्रिय भेट्रान्स ८-ए साइड फुटबलमा ४० वर्षमाथिको विधामा १९ टोली, ५० वर्षमाथिको विधामा १४ टोली र ६० वर्ष उमेर पूरा भएका ६ टोलीले सहभागिता जनाउनेछन् । ४० वर्ष उमेर समूहको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले समान ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र दोस्रोले ३० हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितवन, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।
बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरूलाई सम्मान गर्दै आएको छ । सोही अनुसार यस वर्ष पूर्वखेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ ।