पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोला प्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
पुरस्कारबापतको रकम सहारा एफसी यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । आयोजक सहारा क्लबका अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत तथा सम्मानसमेत गरेको थियो ।
सो अवसरमा क्लबका सदस्य एवं पोखरा-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, मानार्थ सदस्य महेश गुरुङ, क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्वअध्यक्षद्वय विक्रम थकाली र वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, सचिव टंकप्रसाद पौडेल, अग्रज फोटो पत्रकार सुदर्शन रञ्जित उपस्थित थिए ।
माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा हुने २४औँ संस्करणको प्रतियोगितामा १२ टिमले भाग लिँदै छन् । तीमध्ये १० टिमको टुंगो लागिसकेको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रीस्टार, मच्छिन्द्र, नेपाल पुलिस, एपीएफ, संकटा, चर्च ब्वाइज, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब यूके र आयोजक सहारा क्लब पोखरा रहेका छन् ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण ‘हाम्रो खेलकुद’ युट्युब च्यानलबाट हुनेछ । हाम्रो खेलकुदले क्लबसँग ५ लाख रुपैयाँमा उक्त सम्झौता गरेको आर्थिक उपसमिति संयोजक सुनिल गुरुङले जनाए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि रहेका छन् ।
क्लबले पोखरा-१७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । क्लबले पोखरा रंगशालासम्म दर्शकलाई आकर्षित गर्न होलबडी चेकअप, आँखा जाँचसहित विभिन्न बम्पर उपहारको व्यवस्था गरेको छ ।