पोखरा । पोखराको रहेको सहारा बाल आधारभूत विद्यालयमा नेवा: मिसा पुच: पृथ्वीचोकले प्राथमिक उपचार अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष लक्ष्मी मुल्मीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीलाई २५ हजार रुपैयाँको चेक प्रदान गरेकी हुन् । नेवा: मिसा पुच: पृथ्वीचोकका सचिव नवीना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रोमा राखेकी थिइन् ।
संस्थाको अध्यक्ष लक्ष्मी मुल्मीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले दातालाई धन्यवाद व्यक्त गरे । विपन्न बालबालिका अध्ययन गर्ने विद्यालयका बालबालिकालाई प्राथमिक उपचारका लागि अवधारणासहित कोष स्थापना गर्नु प्रसंशनीय कार्य भएको उनले बताए । थकालीले नेवा: मिसा पुचले सुरु गरेको अक्षयकोषलाई बृहत् बनाइ सहज सेवा प्रदान गर्न सहयोगका निमित्त उनले आह्वानसमेत गरे ।
पोखरा-९ का जनप्रतिनिधि नन्दराम गिरिले आयोजक संस्थालाई धन्यवाद दिँदै विद्यालयलाई सहायता प्रदानका लागि हातेमालो गर्न आग्रह गरे । प्रमुख अतिथि नेवा :खल कचा: पृथ्वीचोकका अध्यक्ष रेशम बाबु श्रेष्ठले आगामी दिनमा थप सहयोगका लागी नेवा: खल सदैव तयार रहेको बताए ।
सोही क्रममा विद्यालयका ६० जना छात्रालाई महिनावारी स्वास्थ्य र सरसफाइसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम पनि सञ्चालन भएको थियो । विद्यालयमा २५० बालबालिका अध्ययनरत छन् । कार्यक्रम समापनका क्रममा संस्थाकी अध्यक्ष लक्ष्मी मूल्मीले कोषको सुरुआत गर्न पाउँदा खुसी लागेको बताइन् । सबैको साथ र सहयोगले बालबालिकालाई प्राथमिक उपचार पाउनमा सहज हुने उनको धारण थियो ।
विद्यालयका प्रधानाध्यापकले स्वागत गर्दै सुरु भएको कार्यक्रममा नेवा: मिसा पुच: पृथ्वीचोकका संस्थापक अध्यक्ष एवं विद्यालयका सल्लाहकार रेविका श्रेष्ठ, सहारा क्लब पोखराका अध्यक्ष, नेपा मिसा पुचाका पदाधिकारी, नेवा खल पृथ्विचोकका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य, सल्लाहकार, शिक्षक अभिभावक एवं विद्यार्थीको उपस्थिति थियो ।