१५ -१६ वर्षकी कलकलाउँदी बर्षा आफ्नी फुपू- नन्दासँग फुपूको गाउँ आएकी थिई । दिनमा त उनी फुपूको गाउँ हेर्न गाउँघर डुली । फुपूले पनि उनलाई माया गरेर डुलाईन्, खुलाईन् र गाउँको रमाईला ठाउँहरू देखाईन् । सानी वर्षालाई फुपूको गाउँ साह्रै मन पऱ्यो ।
हुन त गाउँ धेरै राम्रो थियो तर अझ त्यहाँका मान्छेहरू झन् राम्रा देखिन्थे, सुकिला र चट्ट परेका । साँच्चिकै वर्षालाई यो गाउँ राम्रो लाग्यो र यहाँका गाउँलेहरू राम्रा लागे । सबैका घरमा धारा र पाईखाना रहेछन् । पानी लिन घरबाट निस्के धारामा पुगिहाल्ने । आफ्नो त एक गाग्रो पानी लिन पनि त्यति टाढा पुग्नु पर्छ । वर्षाले मनमनै सोंची । उनलाई अझ धेरै मन पऱ्यो फुपूको गाउँ । गाउँका पसलहरू, गाउँबाट २०-२५ मिनेटको दूरीमा स्कूल र त्यहाँका खेल्ने मैदान, चौताराहरू, मन्दीर, बाटो, घाटो, गुम्बा, हुलाक सबै व्यवस्थित थिए । ती सबै देखेर उनलाई आफ्नो गाउँभन्दा यो गाउँ धेरै राम्रो र रमाईलो लाग्यो । उनलाई काम नगरीकन डुली हिंड्दा पनि माया गरिरहने नन्दा फुपू राम्री लाग्यो । घरमा त काका बाउ ( झट्केलो बाउ ) र आमाले काममात्र लगाईरहन्थे । त्यसमाथि पनि तीन जना सा- साना भाइ बहिनीको दिनभरि स्याहार पनि उनैले गर्नुपर्थ्यो । आफ्नो उमेरको साथीसंगीसँग कुन बेला खेलोस् र डुलोस् त बिचरी वर्षा । उनी सानैदेखि साह्रै मिलनसार, सहनशील र परिश्रमी थिईन् । आफ्ना सा-साना छोराछोरीलाई जेठी छोरी वर्षाको भरमा छाडेर दिनभर मेलापात र अर्मा - पर्मामा जाँदा उनकी आमा पनि ढुक्क हुन्थी । त्यतिमात्र नभएर बेलुकी आमा र काका बाउ मेलाबाट आउँदा वर्षा खाना पकाएर बसेकी हुन्थी । घर धन्दा सकेर गोठमा बाँधेको गाई भैंसी पनि दिनभर उनकै जिम्मा हुन्थ्यो । त्यसैले वर्षाको नाम स्कूलमा लेखाएको भए तापनि उनी घरमै बस्ने गर्थी । उनको साथीहरू स्कूले लुगा लगाएर, झोलाभरि किताब कापि बोकेर उनकै घरको बाटो गरी स्कुल हिंड्थे । उनलाई पनि जान रहर लाग्थ्यो तर रहर हुँदैमा पुरा गर्न सक्थिनथी । उनी सानी छँदा नै उनको बाबुको देहान्त भएको थियो । वर्षाकी आमाको यो दोस्रो विवाह थियो ।
यसरी नै दिनहरू, महिनाहरू गर्दै वर्षहरू बित्दै जाँदा एकदिन सङ्क्रान्तिको बेलामा उनकी नन्दा फुपू माईत आईन् र उनका आमा र काका बाउसँग निकैबेर कुरा गरिन् । पछि फुपू फर्किने बेलामा वर्षालाई पनि सँगै लगेर जाने भयो । उनी फुपूसँग फुपूको गाउँ घुमेर आउने कुराले खुशी भईन् । यसरी उनी फुपूको गाउँ आई पुगेकी थिईन् । उनी फुपूको गाउँमा आएर फुपूसँग घुम्न र यता उता गएर गाउँलेहरूसँग भेट्न पाउँदा फुरुङ्ग भएकी थिईन् । यद्यपि आमा - बाउ र भाइ बहिनीहरूको याद पनि नआएको होईन ।
यस्तैमा फुपूको गाउँमा बसेको केही दिनपछि एकदिन बेलुकीपख फुपूले उनलाई त्यस गाउँको एउटा घरमा लिएर गईन् । त्यस घरमा परिवारको नाममा बुढाबुढी र उनीहरूको एउटा छोरो थिए । बुढा धेरै बुढा भए पनि टाठो र कान सुन्ने थिए भने बिचरी बुढी पटक्कै कान सुन्दिनथी र कुरा गर्नुपर्दा चर्को स्वरले चिच्याएर बोल्नु पर्दथ्यो । त्यतिमात्र नभएर कहिले त गलत सुनी दिएर बुढी उल्टै रिसाउँथिन् । त्यहाँ फुपूले उनलाई भनिन्- “ वर्षा तिमी अब यहीं बस, तिमी र आकाश श्रीमान श्रीमती भएर जिन्दगी सँगै बिताऊ ।”
वर्षाले हुँदै हुँदैन भनी लाख रोई कराई गर्दा पनि उनकी फुपू र गाउँका केही व्यक्तिहरू मिलेर वर्षा र आकाशलाई दुलाहा दुलही जस्तै गरी गलैँचा बिछ्याएर बसाले र दही चामल मुछेर टिका लगाई दिए । सासू ससूरा, फुपू र त्यहाँ भएका ठूला बडाले ती दुवैलाई आशीष दिए । यसरी उनले कहिले नदेखेको र नचिनेको अपरिचित व्यक्ति, त्यतिमात्र नभएर आफूभन्दा २५-२६ वर्ष उमेरले जेठो व्यक्तिसँग विवाह बन्धनमा बाँधिन पुगिन् । यस्तो थाह पाएको भए जामा लगाएर फुरुक फुरुक उफ्रिँदै फुपूको घर किन आउँथी र ? त्यसबेला लाजलेभन्दा पनि डरले उनी निली देखिएकी थिई । दुलाहाले ओढाईदिएको “ शगुन “ को पछ्यौरी आफ्ना दुवै कलिला हातहरूले अनुहार ढाकिराख्नको लागि बलियोसित चपक्क समातिराखेकी थिई । आफ्नी फुपूको कहिले हात त कहिले सारीको फेरो समातेर पछि लाएर जान लाख कोशिश गरे तापनि आखिर उनको केही लागेन ।
विवाह भएको १/२ महिनासम्म त श्रीमानको माया, घरको धन्दा र बुढाबुढी भएका सासु-ससुराको स्याहार गर्दै उनको समय राम्रै बित्यो । बिचरी वर्षा यसरी विवाह भएपश्चात माईत पनि जान पाईनन् । बालसुलभ मन र उमेरले भरखरैमात्र किशोरी उमेरमा पाईला टेकेकी, अचानकमा विवाह बन्धनमा बाँधिएकी उनलाई हिँडेर ५-६ घण्टामा पुग्न सकिने माईती घरमा जाने समेत अनुमति नपाउँदा मनमा कस्तो लागेको होला ? यस्तो कुरा कसले बुझीदेओस् ?
उनको श्रीमानको कुनै जागिर थिएन, न त कुनै खास आय स्रोत नै थियो । घरमा आय स्रोतको नाममा ससूरा बुढाको अलिकति पेन्सन थियो जुन बुढाबुढीकै औषधि पानीमा खर्च भईहाल्दथ्यो । त्यसैले घरमा सर सल्लाह चल्यो र बाबा- आमाको सर सल्लाह अनुसार आकाश जागिर खोज्न भारत ( ईण्जिया ) जाने निधो भयो । यसमा वर्षाको विचार के कस्तो छ भनेर कसैले पनि एक अखर सोधेनन् । उनको मन अँध्यारो भयो । एक त उमेरको फरक र अर्को कुरा पहिले नै वैवाहिक जीवन बिताईसकेको पाको आकाश त कहाँकी १५-१६ वर्षकी कलिली वर्षा ! दुवैका भावना र सोँचाईमा समानता कहीं पनि थिएन ।
आखिर केही दिनको तयारीपछि आकाश जागिरको खोजीमा भारत पस्यो । विवाह गरेको मुस्कीलले २ महिना पनि नपुग्दै उ बृद्ध अवस्थाका बाबा आमालाई कलिली वर्षाको जिम्मा लगाएर मुग्लानी भए । नौली, सोझी र कलिली वर्षा बिचरी कसलाई पोखून् मनको दुख ?
नौलो ठाउँ, नौलो गाउँ र नौलै मान्छेहरूसँग उनी दिन बिताउन थालिन् । बिहान बेलुकी भान्साको काम, दिउँसो खेतबारी र अरु समय घाँस-दाउरा गरेर राति लखतरान पर्थिन् र पनि एकैछिन माथिल्लो घर नपुगेसम्म उनलाई निद्रा पर्दैनथ्यो । त्यसैले वर्षा दिनभरिको काम र घर धन्दा सकेपछि एकछिन भने पनि माथिल्लो घर जाने गर्दथिन् । माथिल्लो घरसँग उनको छोटो समयमा नै गहिरो माया बसेको थियो । त्यो घरमा घरभरि जहान परिवार थियो । परिवार ठूलो भए तापनि घर एउटा मन्दिर जस्तै शान्त र हराभरा थियो । घरमा सा-साना नाति नातिनी थिए र वर्षाले उनीहरूलाई औधी माया गर्दथी । त्यो घरकी कान्छी छोरी वर्षाकै उमेरकी थिई त्यसैले दुबैमा निकै मेल थियो । कान्छी मधु वर्षालाई भाउज्यू भन्थी र वर्षालाई देखेर खुशी हुन्थी । वर्षा लेखपढ गर्न उति जान्दिनथी । विवाहपछि तुरुन्तै उनको लोग्ने विदेश गएको हुनाले उनलाई श्रीमानले पठाएको पत्र सुन्न मन हतारिन्थ्यो । त्यस कारणले पनि उनी लुकी लुकी माथिल्लो घर जान्थी । मधुलाई पत्र पढेर सुनाउन लगाउँथी । उनी आकाशको पत्र सुनेर खुब रुन्थी । मधुलाई पत्रको उत्तर लेखीदिन लगाउँथी र लेख्नका लागि आफ्ना कुराहरू बताउँदा पनि औधी रुने गर्दथी ।
“वर्षा भाउज्यू ! नरुनुस्न त्यसरी “ भन्दै चिट्ठी लेख्न नसकी मधु पनि वर्षासँगै बत्तीको नजिक घोप्टिएर रुन्थी । यसरी नै उनको दिनचर्या गुज्रिंदै थियो । समय पत्तो नै नपाई बित्दो रहेछ । आकाश भारत गएको पनि एक वर्ष भएछ । वर्षालाई आकाशको चिट्ठी आउन कम हुँदै गयो र दुर्भाग्यवश पछि पछि त आउनै बन्द भयो । उनको पिडाको अन्दाज कसले लगाईदेओस् ? घरमा पनि आजकल दिनहुँ जस्तो सासू ससुराको टोकसो खानु परिरहन्थ्यो । दिनभरि घाँस दाउरा र मेलापात गरेर बस्दा पनि कहिले कहीं भरपेट खान पाउँदिनथी ।
“ छोराको खबर छैन । न त मान्छे आउँछ, न त खबर ! यही अलक्षिनी बुहारीले गर्दा नै हो “ आजभोलि सासू बुढीको कुरै यही हुन्थ्यो । ससूरा बुढाले पनि त्यसै दोषमात्र लगाईरहन्थे । दिन, महिना र वर्ष बित्दै गयो ।वर्षा छोटो समयमै मानसिक र शारीरिक रुपले छिन्नभिन्न हुँदै गई । उनलाई न खान मन लाग्थ्यो न त पिउन नै । न राति निद्रा लाग्थ्यो न त दिनमा भोक । उनको खासै कोहि साथीसंगी पनि थिएन जोसँग मनको दुखेसो पोखोस् । तल्लो घुमाउने घरको नन्दा पर्ने भगवती नानी राति वर्षासँग सुत्न साथी आउँथी र बिहान उठेर आफ्नो घर जाने गर्थी । कुनै कुनै बेला राति उनी साथी नआउँदा उनलाई रातभर निद्रा पर्दैनथ्यो ।
एक रात मध्यरात्रिको समयमा वर्षा एक्कासी ब्युँझिई । उनलाई एकदम अप्ठ्यारो भयो । उनलाई कता कता आफूलाई कुनै गह्रौँ मूँढाले थिचे जस्तो भान भयो ।
उनको हात कुनै चिजसँग ठोक्कियो । के रहेछ भनेर समात्दा हात जस्तो लाग्यो । फेरि भगवतीको हात पो हो कि भनेर छामेर ठम्याउन खोजिन् तर त्यो हात कडा र ठूलो थियो । उनको होस् उड्यो, निद्रा भाग्यो, शरीर फुलेर ठूलो भयो । रीस, घृणा र क्रोध अनि अत्यधिक भयले उनी काम्न थालिन् र भगवती नानीलाई झिंझोडि उठाएर बाहिर पाईखाना जाम् भनिन् । त्यसबेला उनको मुटु उनी आफैले सुन्ने गरी ढुक् ढुक् गर्दै उफ्रिरहेको भान हुन्थ्यो । आकाश खसेर उनलाई थिचेजस्तो र धरती उनी आफैलाई लिएर भासिएको जस्तो भान भएको थियो । उनको लागि सारा सृष्टि नै थपक्क रोकिए जस्तो भएको थियो । उनलाई भाउन्न भईरहेको थियो ।
बल्ल तल्ल पूर्व दिशामा उज्यालो पोतिंदै आयो र दिनको उदय भयो । दुख र पिडाले क्षत विक्षत मनलाई सम्हालेर उनी चुपचाप घर दैलो पोत्न लागिन् । घर धन्दा गर्दा वहाना निकाली बुढी सासूको छेउछाउ पुगिरहिन् तर जत्ति नै कोशिश गरे पनि सासूलाई केही भन्न सकिनन् । उनको मन कता कता उडिरहेको थियो सिमलको भुवा उडे जस्तै । आकाशको यादले उनको हृदय फाटिरहेको थियो । पिडाले रन्थनिईरहेको बेला कहीं कतै एक शब्द मनको बह पोखाउने ठाउँ पाईनन् बिचरीले । रन्थनिंदै उनी गोठमा गएको बेला कैली भैँसीसँग मनको बह पोखिन् , कैलीलाई आँगालो मारेर निकैबेर रोईन् । उनको आँशु देखेर पिडित हुँदै कैली भैँसीले पनि अफशोच मान्दै आँखाभरि आँशु लिएर मायालु पाराले वर्षालाई हेरिरही । केही सीप नलागेर उम्लेको मनलाई शान्त पार्ने बेकारको कोशिश गर्दै उनी गाउँको नजिक रहेको दुलही डाँडाको पारी बारीमा मकैको पात थुत्न गईन् । रातिको घटनाले तर्सेको वर्षालाई काम गर्ने कत्ति पनि जाँगर थिएन तापनि आफूलाई व्यस्त राखेर मनको व्यथा भुल्ने प्रयासमा लागिरहिन् ।
अरु बेला यस दुलही डाँडा नजिकको बारीतिर काम गर्न आउँदा उनलाई निकै रमाईलो लाग्दथ्यो । नजिकै रहेको सानो बजार जहाँ हरबखत मान्छेहरू ओहोर दोहोर गरिरहेका हुन्थे । किनमेल गर्नेको लर्को पनि देखिन्थ्यो र कहिले स्कूलको खाजा खाने समयमा अझ निकै भीड देखिन्थ्यो र उनलाई रमाईलो लाग्थ्यो । तर आज उनलाई सबै विरानो लागेको थियो । दुलही डाँडा पनि एक तमासको अँध्यारो र वैराग्य देखिन्थ्यो । वर्षाको मन जस्तै धमिलो बादल लागेको दिन थियो ।
मकै बारीमा मकैको सुत्ला थुत्दा थुत्दै एक्कासी उनी रोक्किईन् । मसिनो तर भयानक डर र त्रासले चित्कार गर्दै फरक्क फर्केर दौडिईन् । उसको अनुहार रातो, बडो क्रुर, कठोर र निर्दयी देखिन्थ्यो । भयानक तर भित्रभित्रै भास्सिएको आवाजमा के के फलाक्दै उ वर्षालाई समाउन वर्षाको पछि पछि जथाभावी दौडिन थाल्यो । शान्त मकैबारीमा अचानक एक किसिमको ठूलो भागदौड मच्चियो । यो घमासान भागदौडले गर्दा मकैको पातहरूसँग घिस्रिंदाको आवाज र मकैका बोटहरू जथाभावी भाँच्चिएर आएको आवाज त्यसमाथि ती दुई बीचको छिनाझपडीद्वारा आएको आवाजले वातावरण नै बड़ों भयानक देखियो । दुलही डाँडा पानी पर्ला पर्ला जस्तो अँध्यारो भए पनि पानी परेको थिएन । ढम्म लागेको बादलले त्यो सानो डाँडा आफ्नै गाउँ नजिक भए पनि कहाँ कहाँ जस्तै भएको थियो । भाग्यवश वर्षा उसको कब्जामा परिनन् । उ त्यस दौडमा हारेर डरलाग्दो र थकित देखिए तापनि अझ घायल सिंह जसरी सानो धोत्रो स्वरले साउती गरे जस्तरी गर्जिए । “ मैले भनेको मान । नत्रभने तँलाई पख्लास्… कतै कस्सैलाई एक शब्द भनिस् भने तँलाई मारेर खोलामा फालिदिन्छु…।” यति भन्दै उ त्यहाँबाट गयो । उ गए पनि भरखरैमात्रको उसको उपस्थितिले हल्लाई राखेको मकैका बोटहरू हल्लिई नै रहेका थिए र वर्षाको सारा शरीर डर, घीन, लाज र रीसले अझै लगलगी कामिरहेको थियो ।
वर्षा निक्कै बेरसम्म मकै बारीबाट निस्केर बाटो नजिकैको कान्लामा काम्दै उभी रहिन् । बिचरी के गर्ने र कसो गर्ने सोंच्न सकिरहेकी थिईनन् । उनी नजिकैको डोको, नाम्लो र हँसिया सम्हालेर त्यहाँबाट हिँडिन् । बान्नाको बाटो हिँड्दै तल मूल बाटोमा झरिन् । नजिकै देवीको थान थियो । उनी देवीको थानको ठीक पछाडि गएर बसिन् । सायद उनी आफूलाई बाटो हिँड्ने बटुवाहरू कसैले नदेखून् भन्ने चहान्थिन् । उनको आँखाबाट बलिन्द्रधारा आँशु बगिरहेको थियो । हृदय छिया छिया भईरहेको थियो । मन हुँडालिएर थुप्रै थुप्रै कुराहरू खेलिरहेको थियो । उनी आफ्ना आमा, काका बाउ, श्रीमान, भाइ-बहिनी र सबैलाई सम्झेर धुरुधुरु रोईन् । गाउँका कति मान्छेहरू खेतबारीको काम सकेर त्यहाँबाट आए गए, तर उनीहरू कसैले पनि वर्षालाई देखेनन् । आफ्नै गाउँकी एउटी निर्दोष, सुशील बुहारी आफ्नै ससूराको कालो करतूतको कारणले शिरदेखि पाउसम्म दुख, पिडा र अत्याचारले छटपटाएर आँशुमा डुबेकी छिन् भन्ने कुरा कसैले रत्तिभर थाह पाएनन् । अचानक उनी उठिन् र वरिपरि हेरिन्, अघि आफैले काम गर्दै गरेको मकै बारी हेरिन् , गाउँ माथिको डाँडा काँडा हेरिन् । उनको अनुहारमा पलपलमै विभिन्न थरीका भावहरू देखिन्थे । मानौँ उनी यी सबैसँग विदा मागिरहेकी छिन् । अन्त्यमा उनको अनुहारमा एक किसिमको दृढता देखियो र अलिकति कठोरता पनि ।
उनलाई सारा गाउँ ठाउँ आज विरानो लागिरहेको थियो । मन वेचैन भएर कहाँ जाउँ र के गरुँ जस्तो भईरहेको थियो । माईत घर भागेर जाउँ भने पनि सबैले कुरा गर्लान् भन्ने डर । त्यसभन्दा पनि ठूलो पीर उनलाई त्यसरी घरबार त्यागेर गयो भने पछि बहिनीहरुको विवाहमा समस्या आउला भन्ने सोंचाईले उनको कलिलो मस्तिष्कमा गहिरो चोट परिरहेको थियो । फर्केर त्यही घरमा जाउँ भने पनि सधैंभरि जोगिएर बस्न संभव हुने कुरा भएन । उनको मनमा पीर चिन्ताको पहिरो गईरह्यो । कतै बाटो पाउन सकिनन् । डोको नाम्लो र हँसिया लिएर घाँस काट्न जान लागी । विस्तारै उम्लेको मनलाई सकी नसकी थुम्थुम्याउँदै यता उता हेरी र माथिल्लो घर लुसुक्क पसी । भित्र भान्सामा जिम्वलबा,आमा, बुहारी र साना नाति-नातिनी थिए । बुहारी सानु बाबुलाई काखमै राखेर खाना पस्काउँदै थिई । वर्षाले आफुलाई थाम्नै सकिनन् । बज्यै भन्दै उनी रुँदै ठूलो घरको आमाको काखमा पसारिईन् । उनको हालत एकदमै दुखलाग्दो देखिन्थ्यो । दुख, पिडा र भयले उनी शिरदेखि पाउसम्म डुबेकी थिईन् । आँसुले भिजेको मुहार हेरेर अनुभवी जिम्वल्नी आमाले आफै अड्कल काटिन् । वर्षालाई थुम्थुम्याएर “हामी छौं, धन्दा नमान्नू “ भनी सम्झाईन् ।
उनी शान्त भएपछि उनलाई के दुख पऱ्यो ? के भयो ? किन त्यसरी भक्कानिएर रोएकी ? भनेर सबैले सोधे । लाज, शरम , डर र त्रासले उनी निकै बेरसम्म बोलिनन् । केही समयपछि उनले साउती मार्दै र इशाराले ढोका बन्द गर्न लगाउँदै आफुलाई आफ्नै ससूरा बाले नराम्रो काम गर्ने कुप्रयास गरेको र कसैलाई थाहा दिएमा उनको ज्यानलाई नै खतरा हुने कुरा खोलिन् । यी कुराहरु भनीरहँदा पनि वर्षा भयभीत देखिन्थिन् । जुन मान्छेमा उनी अभिभावकको छाया र माया खोज्दथिन् उनैबाट यस्तो कुदृष्टि पर्छ भनेर कहिल्यै सोंचेकी थिईनन् । संसारमा कत्ति स्वार्थी र विवेकहीन मानिसहरु जन्मँदा रहेछन् ।
वाल्ल परेर खाना छाडेर कति कुरा बुझ्ने र कति कुरा नबुझ्ने भएर जिम्वल बाले हेरिरहेको थियो । सबैलाई मुखबाट बोली फुट्न गाह्रो परिरहेको थियो । जिम्वल्नी आमाले बालाई अर्को कोठामा लगेर चुपचाप सल्लाह गरिन् । त्यसपछि उनले गाउँको एकजना विश्वासिलो महिलालाई बोलाईन् जसलाई वर्षाले दिदी भन्ने गर्दथी । सबैको तुरुन्तै भित्रभित्रै कुरा भयो र वर्षा डोको नाम्लो लिएर सधैं दैनिकीमा निस्के जस्तो गर्दै घाँस काट्न ठूलो घरबाट निस्केर घरमास्तिर बनपालातिर हिँडी । उनी निस्केको केही वेरमै गाउँकी मीठू दिदी डोको नाम्लो लिएर वर्षा हिंडेको ठाउँतिरै घाँस काट्न भनेर हिंडी । उनको सम्पूर्ण ध्यान वर्षामै केन्द्रित थियो । तैपनि उनी वेफिक्री आफ्नै धुनमा घाँस काट्न हिंडेको झैं देखिन्थिन् ।
माथि पुगेपछि एक्कासी वर्षा देब्रेतिरको बाटो लिएर लम्किन् । डोको बोकेरै लगभग कुदेको जत्तिकै गतिमा हिंड्न थालिन् र केही बेरमै उनी बनपाला नजिकै खरबारीबाट टाढा डाँडामा पुगिन् । मीठू दिदी पनि डोको बोकेर डाँडाको वल्लो भित्ताबाट वर्षालाई नै हेर्दै र कहिले पछाडि फर्केर हेर्दै गरिरहेकी थिईन् । माथि डाँडाबाट मीठू दिदीलाई हेरिराखेर उनी फट्को अझ सकेसम्म लामो पार्दै गईन् । डोको नाम्लो र हँसिया त्यतै सानो खोलाको ढुँगा पछाडि लुकाई र सकेसम्म बल गरेर दौडदै गई वर्षा गई...गई ।
त्यसले के चाहिं बिठ्याई गरेर कहाँ गई ? के नहुने कुरा लगाएर गएकी त छैन ? भेट्यो भने चट्ट पारिदिन्छु त्यसलाई कता गई ? भनेर वर्षाको ससुरा ठूला ठूला स्वरले रिसाएर काम्दै ठूलो घरको आँगनमा कराएको सुनेर सबैको आङभरि काँढा निस्के । मुटुले छातीमा ढुकढुक हिर्काउन थाल्यो । कोहि बाहिर निस्केनन् । न त कसैले के भयो भनेर सोधे । बल्लतल्ल दिन बित्यो, साँझ झमक्क पऱ्यो । सधैं जस्तरी वर्षा वेलुकी पाखा ठूलो घरमा आईनन् । ठूलो घरको साना ठूला सदस्यहरुलेमात्र होईन घरको कोठा-चोटाहरु, भित्ता भित्ताहरु र पिंडीमा सधैं बिछ्याइरहने गुन्द्री - चकटीहरुले पनि वर्षालाई “आज किन आईनन्?” भनेर सोधिरहेको जस्तै लाग्दथ्यो । यो करीब २ वर्षको अवधिमै उनी माथिल्लो घरसँग परिवारको एउटा सदस्य जत्तिकै नजिक भएकी थिईन् । उनको स्वभाव नै त्यस्तो थियो । बूढाबुढी र नानी बच्चाहरुलाई अति प्यारो गर्दथिन् । सायद आफ्नो भाई बहिनीको न्यास्रो ठूलो घरको नाति नातिनीमा मेटाउँदथिन् ।
भोलिपल्ट बिहान वर्षालाई अचाक्ली गाली गर्दै र जथाभावी सराप्दै वर्षाको सासू ठूलो घरको आँगनमा आईपुगी । उनको मुखबाट वर्षाको बारेमा गाली गलौज र नराम्रो कुराहरुमात्र निस्कीरहेको थियो । पछि पँधेरामा पानी लिन आउनेहरु पनि ठूलो घरकै आँगनमा आउन थाले । सबैले खास्खुस् गर्दै वर्षालाई यस्ती उस्ती भनेर कुरा काट्न थाले ।
नराम्रो कुरालाई फैलिन रेडियो चाहिंदैन भनेको साँचै रहेछ । आखिरमा वर्षा पोईला हिंडी भनेर गाउँभरि हल्ला फिंजियो । सबैले उनको कुरा काटे । उनको ससुराले बढाई-चढाई गरी सकेसम्म वर्षालाई वेश्या जत्तिकै बनाई कुरा काटे । त्यो घरको कोठा-चोटा, अगेना छेउको कुना, वर्षा सुत्ने गरेको खटिया र हरेक ठाउँहरुले सुनेर बोल्न सकेनन् । त्यो मकै बारी र कान्लाहरु, त्यो पाखा र सानो डाँडा अनि त्यो बाटो घाटो सबैले सुने वर्षा यति बिघ्न वेईज्जत गरिएको तर बोल्न सकेनन् । मान्छे यतिसम्म क्रूर, दुष्ट, नैतिकता हीन र झुट्टो कसरी हुन सक्छ होला ! केवल जिम्वल बा, आमा, उनकी बुहारी र मीठू दिदीका मौन आँखाहरुले भने उनको ससूरातिर ताकेर सधैं भनीरहेका हुन्थे....तेरो अपराध अक्षम्य छ, धिक्कार छ तेरो जुनी ...।