लन्डन। नेपाली मूलका खेलाडी किबान राई अल्डरसट टाउन फुटबल क्लबमा अनुबन्धित भएका छन् ।
२० वर्षीय किबानलाई न्यूपोर्ट काउन्टीसँगको सम्झौता सकिएपछि अल्डरसट टाउनले अनुबन्ध गरेको हो । यससँगै उनी अल्डरसट टाउनमा अनुबन्धित हुने पहिलो नेपाली मूलका खेलाडी बनेका छन् ।
किबानले १७ वर्षको उमेरमै इंग्लिस फुटबल लिगअन्तर्गत सलफोर्ड सिटीविरुद्ध आफ्नो पहिलो खेल खेलेका थिए । प्रिमियर लिग क्लब ब्रेन्टफोर्डविरुद्ध क्याराबाओ कपमा ९६औँ मिनेटमा गोल गर्दै आफ्नो पहिलो प्रोफेसनल गोल गरेका थिए ।
उनले म्यानचेस्टर युनाइटेडविरुद्ध ब्रुनो फर्नान्डेज, कासेमिरो र राफाएल भारानजस्ता खेलाडीहरूसँग प्रतिस्पर्धा गरिसकेका छन् ।
-1750863861.jpg)
किबानले ३० खेल न्यूपोर्ट काउन्टीबाट खेलेका थिए भने पछिल्लो वर्ष मेर्थर टाउनमा लोन स्पेल पनि गरेका थिए । उनले क्लबलाई साउदर्न लिगको उपाधि जित्न मद्दत गरेका थिए ।
अनुबन्धपछि किबानले नयाँ अनुबन्धले आफू खुसी भएको बताए । ‘अन्ततः यहाँ आइपुग्न सकेँ र खेल सुरू गर्ने प्रतीक्षामा छु,’ उनले भने ।
क्लबका मुख्य प्रशिक्षक टोमी विड्रिङ्टनले किबान राम्रो सम्भावना बोकेको प्रतिभावान् खेलाडी भएको बताए । ‘उनलाई क्षमताका आधारमा अनुबन्ध गरिएको हो,’ उनले भने ।
क्लबका रिक्रुटमेन्ट प्रमुख जेमी हेड्जले अल्डरसट टाउनको वातावरण किबानको करियर अघि बढाउन अनुकूल रहेको बताए । ‘हामी विश्वास गर्छौं कि हाम्रो वातावरण किबानको करिअर अगाडि बढाउन उपयुक्त हुनेछ,’ उनले भने ।
किबानको अनुबन्धका अवसरमा उनको परिवारसहित सहारा यूकेका अध्यक्ष कृष्ण, गुरुङ गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायत उपस्थित थिए ।
