पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धीं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा शनिबार विभिन्न विधामा ल्होछार शुभकामना सडक दौड आयोजना गरेको छ।
ल्होछार कार्यक्रमअन्तर्गत पहिलो दिन तमु धी नेपाल केन्द्रीय युवा समितिको संयोजनमा सम्पन्न दौडमा अन्तरसमाजतर्फ ताङतिङ दुधपोखरी तमु समाजले प्रथम हुँदै २० हजार रुपैयाँ र रनिङ सिल्ड प्राप्त गर्यो । दोस्रो भएको चिउली पाचे तमु समाजले १५ हजार र तेस्रो हुँदै नौलो सम्झना तमु समाज १० हजार रुपैयाँसहित पुरस्कृत भएको छ ।
यसैगरी, १० किमी खुल्लामा सोनम गुरुङ प्रथम, सायल गुरुङ र सुजन गुरुङ दोस्रो, राम कुमार गुरुङ र केभिन गुरुङ तेस्रो र दिलप्रसाद गुरुङ चौथो हुँदै क्रमशः १५, १०, ७ र ३ हजार रुपैयाँसहित पुरस्कृत भए ।
पाँच किमी महिलातर्फ भने अनिता गुरुङ प्रथम, बियन्का गुरुङ दोस्रो, सरस्वती गुरुङ तेस्रो र अरुणा गुरुङ चौथो भए। उनीहरूले क्रमशः नगद ७,५, ३ र २ हजार रुपैयाँ प्राप्त गरे।
यसैगरी, पाँच किमी भेट्रान्सतर्फ क्याप्टेन भक्तराज गुरुङ प्रथम, भीमसेन गुरुङ दोस्रो, दिलीप गुरुङ तेस्रो र दिलु गुरुङ चौथो हुँदै क्रमशः ७,५, ३ र २ हजार रुपैयाँ पाए।
मुह्री ल्हो (गिद्ध वर्ग) को विदाईसँगै सप्ह्री ल्हो (सर्प वर्ग) आगमनको अवसरमा आयोजित ल्होछार शुभकामना दौडमा १४ देखि ८० बर्षका धावकको सहभागिता रहेको प्रतियोगिता संयोजक चोकबहादुर गुरुङले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य सरस्वती गुरुङले दौड संस्कृतिले पोखरालाई खेल र संस्कृतिको शहरको रूपमा विकास गर्ने सहयोग पुग्ने बताइन्।
तमु धीं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षता भएको कार्यक्रममा प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत मन्तव्य राखेका थिए। केन्द्रीय युवा समिति अध्यक्ष रमेश गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।