पोखरा । कास्की टेनिस संघको आयोजनामा सोमबार आईटीएफ ‘वर्ल्ड टेनिस टुर जे ३०’ प्रतियोगिता सुरु भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले प्रतियोगिता निर्देशक अजय विष्टलाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिता शुभारम्भ गरेका हुन् ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा मंसिर २९ सम्म सञ्चालन हुने प्रतियोगितामा १० देशका पुरुष ७० र महिला ३५ गरी १०५ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजिल्यान्ड, ताइवान, मंगोलिया, बांग्लादेश र कोरियाका खेलाडीले भाग लिएका छन् ।
१३ वर्षदेखि १८ वर्ष उमेर समूहमा प्रतिस्पर्धा सञ्चालन हुनेछ । विजेताले समान ३० अंक, उपविजेताले १८ अंक, सेमिफाइनलिस्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अंक प्राप्त गर्नेछन् ।
त्यस्तै डबल्समा विजेताले २५ अंक, उपविजेताले १३ सेमि फाइनालिस्टले ६ र क्वाटर फाइनालिस्टले तीन अंक प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अंकका आधारमा उनीहरूको वरियता निर्धारण हुनेछ ।
कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले खेलकुदको माध्यमबाट पर्यटन विकासका साथै राष्ट्रिय सुदृढ बनाएर देशलाई अघि बढाउनुपर्ने बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले पोखरालाई खेलकुद पर्यटनको माध्यमबाट विश्वमा चिनाउन प्रतियोगिताले मद्दत पुगेको बताए ।