पोखरा । पोखरा पर्वतीय दौडको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । शनिबार पोखरामा सम्पन्न दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटर दूरी ३८ मिनेट २३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
पोखरा क्लिकले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी दोस्रो तथा पोखरा–१७ का प्रकाश थिक तेस्रो भए ।
बुढाथोकीले ४१ मिनेट २२ सेकेन्ड र थिकले ४२ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । विजेतालाई २५ हजार, उपविजेतालाई १५ हजार र तेश्रो हुनेलाई नगद ७ हजार तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । विश्व शान्ति स्तूपदेखि सुरु दौड पुम्दीकोट विशाल महादेवको मूर्ति, २२ नम्बर वडा कार्यालय हुँदै बुद्ध पार्कमा पुगेर टुंगिएको थियो ।
यस्तै, महिलातर्फ काभ्रे चौताराकी नितु तामाङले उपाधि जितिन् । उनले निर्धारित दूरी ५५ मिनेट २१ सेकेन्डमा पार गरिन् । यू१६ तर्फ भने पोखरा-२२ का सागर देवकोटा प्रथम भए । पोखरा–२२ स्तरीय दौडमा सुजिल परियार प्रथम भए । विजेतालाई जनही ७ हजारको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरियो ।
विजेता तथा उपविजेतालाई गण्डकीका पूर्वअर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषद् अध्यक्ष तारानाथ पहारी, विश्व शान्ति स्तूप समिति अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, शान्ति स्तूप समितिका सदस्य दुर्गाबहादुर गुरुङ, बुद्ध पार्क समिति अध्यक्ष राज गुरुङ (लाल), शुक्रराज माविका प्राचार्य नरनाथ बराल, कालावाङ होमस्टेका अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिता संयोजक दीननाथ बराललगायतले पुरस्कार प्रदान गरेका थिए । धावक गुरुङ र समाजसेवी बराल सम्मानित
पोखरा क्लिकले मलेसियाको माउन्ट किनाबालु हाफ म्याराथनमा ह्याट्रिक गर्न सफल अन्तर्राष्ट्रिय धावक ले.रि कुसाङ गुरुङलाई विशेष सम्मान गरेको छ । सहारा यूकेका निवर्तमान अध्यक्ष कुसाङ गुरुङ समाजसेवामा पनि सक्रिय छन् । सोही अवसरमा पर्यटन, उद्यम र समाजसेवा क्षेत्रबाट विशेष योगदान गर्ने समाजसेवी तथा उद्यमी चन्द्रकान्त बराललाई पनि सम्मान गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गरेका थिए । दौड सफल पार्न पुम्दीभुम्दीवासीले टोल तथा चोकचोकमा फूलमाला तथा गुच्छा एवं पानीले स्वागत गरेका थिए ।
दौडमा नर्वेका दुई महिलासहित ७९ जनाले सहभागिता जनाएका थिए । धावकहरू ९ बर्षदेखि ५५ बर्ष उमेर समूहका थिए । ज्येष्ठधावक ५५ वर्षीय शिवराज बस्ताकोटी शिवदाइलाई मेडल प्रदान गरियो ।
प्रतियोगिताले पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कार्यक्रम संयोजक बरालले बताए । पूर्व अर्थमन्त्री बरालले पोखरा- २२ मा पर्यटन र खेलकुदको अथाह सम्भावना भएकाले यस्ता खेलकुदका गतिविधिले खेल पर्यटनको विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।