कास्की । पोखरा क्लिक प्रथम पर्वतीय खुला दौड प्रतियोगिताको रजिष्ट्रेशन (दर्ता) खुला गरिएको छ ।
विश्व शान्ति तथा विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चारमाध्यमले आयोजना गर्ने उक्त प्रतियोगिताको आइतबारदेखि अनलाइन रजिष्ट्रेशन खुला गरिएको हो । प्रतियोगितमा सहभागी हुनका लागि https://pokharaclick.com/first-hill-running-competition-registration-form/ लिंकमा क्लिक गरेर दर्ता गर्नुपर्ने आयोजकद्वारा जनाइएको छ ।
सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवस र सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाइँदै आएको सन्दर्भमा पोखरा क्लिकले पोखरा २२ मा पहिलो पटक पर्वतीय दौड आयोजना गर्न लागेको हो । खेलका माध्यमबाट समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा प्रोत्साहन गर्न ‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ ८ किमी दौड आयोजना गर्न लागिएको पोखरा क्लिकका अध्यक्ष दीनानाथ बरालले जानकारी दिए ।
असोज १२ गते बिहान सुरु हुने उक्त दौडको रुट विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क निगाले डाँडासम्म पुगेर टुङ्गिने छ । प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने भएको छ ।
यस्तै महिला धावक, १६ वर्ष मुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत हुने भएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखराको समग्र पर्यटनमा प्रतियोगिताले सहयोग गर्ने भएकाले आफ्नै कार्यक्रम भएको धारणा राखेका छन् । विश्व शान्ति स्तुप समिति अध्यक्ष उत्तममान बुद्धाचार्यले झण्डै ५० वर्षअघि खुलेको विश्वशान्ति स्तुप अझै पनि ओझेलमा परेको अवस्थामा यो दौडबाट थप प्रचार हुने अपेक्षा राखिएको धारणा राखे ।
प्रदेश खेलकुद् परिषद् गण्डकी सदस्य केशव पाठकले प्रतियोगिता नमूना हुने विश्वास लिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकीका सचिव यदुनाथ बञ्जाराले राम्रो अभ्यासको मिडियाले पनि सक्दो प्रचार गर्नुपर्ने धारणा राखेका छन् ।
पर्यटकीय राजधानी पोखरामा पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा थपिएको पुम्दीकोट विशाल महादेवको मूर्तिसहित बुद्ध पार्क र विश्व शान्ति स्तुपलाई एकैसाथ प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको दौड समग्र पोखराको पर्यटन प्रवद्र्धनका लागि गौरवको विषय रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतम बताउँछन् ।
६ लाख ३९ हजार रुपैयाँ खर्च हुने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि हालसम्म पोखरा–२२ वडा कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, सहारा क्लब पोखरा, अटोवेज प्रा.लि., ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, खेलकुदकर्मी विश्व तण्डुकारलगायतको सहयोग रहेको छ ।
प्रतियोगितामा सहभागी हुनका लागि पाँच सय दर्ता शुल्क राखिएको र सो बापत धावकलाई स्पोर्टस किट र दुर्घटना विमासहितका सुविधा रहेको कार्यक्रम व्यवस्थापक सागर सुनारले जानकारी दिए ।
स्मरण रहोस्, पोखरामा यस अघि अर्मला कोट युवा क्लब अर्मलाले पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिताको छैठौं संस्करण २०७८ सालमा सम्पन्न गरेको थियो ।