लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) युकेले ‘रसमुर वेलेस्ली तथा गोर्खा भीसी दौड’ गर्ने भएको छ ।
जीआरएनसीका अध्यक्ष मान गुरुङको अध्यक्षतामा ८ सेप्टेम्बर २०२४ मा अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा बसेको बैठकले रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर तथा ५ किलोमिटर गोर्खा भीसी दौड गर्ने निर्णय गरेको हो ।
सँगै फन रहन पनि हुने जनाइएको छ । प्रतियोगिता ६ अक्टोबर २०२४ मा अल्डरसटस्थित मिलिटरी एथ्लेटिक्स स्टेडियममा हुनेछ ।
बैठकले गोर्खा भीसी दौडका लागि उपाध्यक्ष डा. विशाल गुरुङलाई संयोजकको जिम्मेवारी दिएको छ । मार्सल संयोजक उपाध्यक्षद्वय उत्तरबहादुर गुरुङ र जित मेन्याङ्बोलाई तोकिएको छ ।
यसैगरी, ५ किलोमिटर गोर्खा भीसी दौडको लागि १५ सेप्टेम्बरमा पूर्वतयारी बैठक र फिल्ड भिजिट गर्नेसमेत निर्णय भएको छ । खेलाडी दर्ताका लागि संयोजक विशाल गुरुङ र महासचिव सुशीला मगरलाई जिम्मा दिइएको छ । खेलाडी दर्ता शुल्क १५ पाउन्ड तोकिएको छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था गरिनेछ ।
रसमुर वेलेस्ली १० किलोमिटर र २ किलोमिटर दौड जीआरएनसी र ब्ल्याक वाटर भ्याली रनको सहकार्यमा हुन लागको हो । १० किलोमिटरका लागि दर्ता शुल्क टिसर्टसहित २२ पाउन्ड रहेको छ । २ किलोमिटर ‘फन रन’ भने नि:शुल्क हुनेछ । जीआरएनसीको ४० जना मार्सल चाहिने हुनाले इच्छुकलाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
यसअघि, बैठकको सुरुमा संस्थाका सचिव सुनिल राना र उपाध्यक्ष विशाल गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराएका थिए । अर्का उपाध्यक्ष उत्तरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष मान गुरुङले बैठकको उद्देश्यबारे प्रकाश पारेका थिए ।
१० किलोमिटर र फनरनबारे उपाध्यक्ष जित मेन्याङ्बो र अध्यक्षले जानकारी गराए । अध्यक्षले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए ।
दौडबारे विस्तृत जानकारी यहाँबाट लिन सकिनेछ ।