लन्डन । बेलायतमा सम्पन्न १७औँ रेडिङकप फुटबल प्रतियोगिताको उपाधि ब्रीगेड ब्वाइज् क्लब (बीबीसी) ले जितेको छ ।
ग्रेटर रेडिङ नेपाली कम्युनिटीले शनिबार रेडिङको पाल्मर पार्कमा भएको फाइनलमा एफसी तोङ्वालाई टाइब्रेकरमा स्तब्ध पार्दै बीबीसीले उपाधि जितेको हो ।
उपाधिसँगै बीबीसीले २ हजार २४ पाउन्ड नगद, कप, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता एफसी तोङ्वाले १ हजार २४ पाउन्डका साथ ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो । यस मुख्य (युवा) विधामा १६ टिम सहभागी थिए ।
भेट्रानतर्फ १० टीमले प्रतिस्पर्धा गरेका थिए । जसमा नखिपोट एफसीले विजेता बन्दै १ हजार २५ र इन्टेक ०४ उपविजेता बन्दै ५२४ पाउन्ड नगदसहित पुरस्कार प्राप्त गरे ।
सुपर भेट्रानमा विजेता केनी एफसीले ५२४ तथा उपविजेता भएको इलाम एफसीले ३२४ पाउन्ड प्राप्त गरेका थिए । यस विधामा चार टिम सहभागी थिए ।
त्यसअघि, प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले गरेकी थिइन् । उद्घाटनमा काउन्सिलर राजेश सिंह, समाजका अध्यक्ष भिमसेन खड्का, पूर्वअध्यक्ष महेश गुरुङ पनि उपस्थित थिए ।
विजेता तथा उपविजेतालाई समाजका अध्यक्ष भिमसेन खड्का, इभेन्ट संयोजक एवं सचिव डा. भरत पौडेल, सल्लाहकार विश्वआदर्श पण्डित, पूर्वअध्यक्षहरू महेश गुरुङ, अर्जुन बस्नेत, टेक गुरुङ, उपाध्यक्षहरू प्रेम गुरुङ, सुरेशजङ थापा, यादव श्रेष्ठ, कल्पना पण्डित, सल्लाहकार रामेश्वर थापा, र्याप डिस्ट्रिब्युसनका मुबिन अहमद, जस्ट मोमोका विलास लामिछाने, उत्तम रिजाललगायतले पुरस्कार वितरण गरे ।
तीन हजार ५०० भन्दा बढी स्थानीय नेपाली उपस्थित प्रतियोगितामा अन्य विविध मनोरञ्जनात्मक कार्यक्रम पनि भएका थिए । बालबालिकाका लागि फेस पेन्टिङ, बीबीक्यू, मोमोसहित स्वादिष्ट नेपाली खानाका विभिन्न परिकार आकर्षणका रूपमा रहेका थिए ।
सुभाशिष गुरुङले आकर्षक नृत्य प्रस्तुत गरे । बालबालिकाको नृत्य संयोजन उपाध्यक्ष कल्पना पण्डितले गरेकी थिइन् । यस्तै, मीन गुरुङको संयोजकत्वमा मैत्रीपूर्ण भलिबल तथा युवा फुटबल र डा. गणेश शर्माको संयोजकत्वमा स्वास्थ्य शिविर भएको थियो ।