आस्फोर्ड । सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड, केन्टले आउँदो २५ अगस्टमा आयोजना गर्ने १४औँ सगरमाथा कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारेको छ । समाजले The Ridge Playing field Ashford मा प्रतियोगिता गर्न लागेको हो ।
बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित सगरमाथा कप प्रतियोगिता गर्न लागिएको हो । सोही दिन नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचारप्रसार गर्नेसमेत तयारी भइरहेको सगरमाथा गोर्खा नेपाली समाजका अध्यक्ष डम्मर लिम्बूले जनाए । ‘सगरमाथा कप सन् २०१५ देखि हाम्रा अग्रजबाट सुरु भएको हो र यो हामी आस्फोर्डबासी नेपालीको गौरवको विषय पनि हो,’ उनले भने, ‘यसलाई हामीले हरेक वर्ष यसरी नै सम्पन्न गरेका छौ ।’
यो समाजको ऐतिहासिक कार्यलाई निरन्तरता दिने आफूहरूको जिम्मेवारी रहको उनको भनाइ छ । ‘सगरमाथा कप फुटबल खेलको स्कुल हो। यसले हाम्रो समाजको गौरव बढाउने खेलाडी उत्पन्न गर्न सक्छ,’ उनले भने । सगरमाथा कपको प्रतिष्ठा बढाउन, आयोजक, संयोजक र खेलाडीको हौसला बढाउन सम्पूर्ण खेलप्रेमीको साथ सहयोग र उपस्थितिका लागि यूकेवासी नेपालीमा उनुरोधसमेत गरेका छन् ।
‘बेलायतको नेपाली डायस्पोरामा पहिलो र दोस्रो पुस्ताबीच दूरी बढिरहँदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौँ,’ लिम्बूले भने, ‘हाम्रो कला, संस्कृति, भाषा, भेषभूषा, रहनसहन दोस्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता भएकाले तपाईं हामी सबै मिलेर यस्ता इभेन्टस गर्नुपर्ने दायित्व आएको छ ।’
अध्यक्ष लिम्बूले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएकोसमेत जनाएका छन् । सगरमाथा गोर्खा नेपाली समाजको कार्यक्रममा सहभागी हुने विशेष अतिथिलाई नेपाली संस्कृति परम्पराअनुसार स्वागत गर्दै संघको खादा, ब्याज एवं मायाको चिनो प्रदान गरिने जनाएको छ । यो कार्यक्रमले युकेवासी सम्पूर्ण नेपालीलाई एकजुट गराउने समाजले आसा राखेको छ ।