लन्डन । फुटबल जगतमा विश्वकै विकसित र व्यावसायिक रूपमा व्यवस्थित विश्वविख्यात क्लब भएका देशमध्ये बेलायत पनि पर्छ । त्यसको प्रभाव बेलायत निवासी नेपाली समुदायमा पनि परेको छ । नेपाली समुदायका युवा पनि स्थानीय क्लबमा आबद्ध भएर खेल्ने गर्छन् ।
बेलायतमा आयोजना गरिने प्रतियोगितामध्येको एक स्विन्डन कप पनि हो । जसको विजेता बनेर एफसी केनीले इतिहास रचेको छ । १३ जुलाईमा भएको स्विन्डन कपमा बेलायता दुई दशकअघि स्थापित प्रतिष्ठित क्लब बीबीसीलाई ३-० को फराकिलो अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो । र रनिङ कप र ट्रफीसहित नगद १ हजार ८०० पाउन्ड हात पारेको छ ।
बेलायतको सुन्दर शहर रेडिङमा भर्खरै स्थापित क्लबको यो पहिलो उपाधि हो । गत वर्ष प्रतिष्ठित रेडिङ कप २०२३ मा उपविजेता हुन सफल भएको थियो ।
बेलायतमा विभिन्न नेपाली संघसंस्था र क्लबले फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । जस बेलायतमा स्थापित नेपाली फुटबल क्लबहरूको सहभागिता रहने गरेको छ ।
यसरी स्थापना भयो क्लब
बेलायतको राजधानी लन्डनबाट पश्चिमी क्षेत्रमा रहेको रेडिङ शहरको पश्चिम क्षेत्रमा केन्सिङ्टन पार्क पर्छ। यस वरिपरि बसोबास गर्ने नेपालीको घुम्ने र खेल्ने यस पार्कमा केही युवाहरूले छुट्टीको दिन भेटघाट गर्न थाले र फुटबल खेल्न थाले । यो क्रम बढ्दै गएपछि हरेक आइतबार बिहान र हरेक दिन साँझ फुटबल खेल्न सुरु गरे । यसरी नियमित खेल्न थालेपछि सबै सहभागीले उक्त कार्य व्यवस्थित गर्ने सोच बनाए । सबै मिलेर क्लब खोले । क्लबको नाम एफसी केनी राख्ने निर्णय गरे । १ अक्टोबर २०१९ मा आधिकारिक रूपमा क्लब स्थापना भयो ।
सुरुमा फुटबल सामान किन्न पैसाको अभाव भयो । उपस्थित खेलाडीले सदस्य बनाएर शुल्क उठाउने निर्णय गरे । मासिक ५ पाउन्ड सदस्यता शुल्क उठाउन थालियो । अहिले झन्डै ५० जना सदस्य रहेको कोषाध्यक्ष देव गुरुङले बताए ।
यसले खेलाडीको मनोबल बढेसँगै बेलायतमा आयोजना हुने कपहरूमा युथ, भेट्रेन र सुपर भेट्रेन टिममा सहभागिता जनाउँदै आएको छ । क्याप्टेन मनि राईका अनुसार क्लब पनि मजबुत बन्दै छ । अहिले स्वदेशी तथा विदेशी खेलाडीसमेत क्लबप्रति आकर्षित भएको मेनेजर प्रकाश गुरुङको भनाइ छ । जसले गर्दा नै रेडिङ कपमा युथतर्फ उपविजेता तथा यस वर्ष बुढासुब्बा कपमा सुपर भेट्रेनतर्फ उपविता हुँदै स्विन्डन कपमा युथतर्फ विजेता बन्न सफल भएको हो ।
स्थापनादेखि नै क्लबका सदस्य एवं युवा व्यवसायी एभरेस्ट तन्दुरी र मञ्चेस क्याफेका प्रबन्धक दावा लामा र स्काई ट्राभल्सका प्रबन्धक श्री प्रसाद तामाङ तथा अन्य सदस्यले फुटबल जर्सीसहितका सामग्री सौजन्य गरेका छन् । क्लबको प्रमुख उद्देश्य नै खेल खेलाएर स्वस्थ र तन्दुरुस्त निरोगी बनाउने रहेको छ। अझै युवापुस्तालाई सहभागी गराएर क्लबलाई निरन्तरता दिने लक्ष्य रहेको मेनेजर गुरुङले बताए ।
क्लबले फुटबल खेल्ने मात्र नभई आफ्ना सदस्यको परिवारजनको दुःखसुख र अन्य सामाजिक काममा पनि आर्थिक, भौतिक र नैतिक साथ दिने गरेको छ ।
क्लब स्थापनाको पूर्व सन्ध्यामा पोखरा महानगरपालिका-१३ घर भई रेडिङ बस्दै आएका क्लबका सक्रिय सदस्य बुद्ध गुरुङको निधन भएको थियो । त्यस बेला क्लबका क्लबका सदस्यले उनको परिवारलाई सहयोग गरेका थिए । यसका साथै नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई पनि टेवा पुर्याउने हेतुले दसैँ तिहारमा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने र नेपाली कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन र आर्थिक सहयोगसमेत गर्ने गरेको छ ।