लन्डन । पोखरेली मञ्च युकेले आयोजना गरेको पीपल सातौँ नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको छ ।
आइतबार ७ जुलाईमा तोकिएको फाइनल खेल खराब मौसमकारण स्थगित भएको पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले जानकारी दिए । 'पीपल सातौँ नेपाल कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत ३० जुन र ३ जुलाईको खेल सम्पन्न भयो । ७ जुलाईमा फाइनल म्याच हुँदै थियो । मौसमको गडबडी, अम्पायरहरुको निर्णय र ग्राउन्ड म्यानेजमेन्टको निर्णयले गर्दा दुवै सेमिफाइनल र फाइनलका खेलहरु हुन सकेन,' अध्यक्ष गुरुङले भने, 'मैले हाम्रा अतिथि, सम्पूर्ण साथीहरुलाई फोन र म्यासेजमार्फत खबर गरिसकेको छु ।'
अध्यक्ष गुरुङले स्थगित खेल अब कहिले हुने भन्ने विषय क्लब र सरोकारवालासँग छलफल गरेर टुंगो लाग्ने बताए । 'समयले नै साथ नदिएपछि हाम्रो केही लागेन । अर्को समय निकालेर कहिले हाम्रो खेल हुन्छ । क्लब र साथीहरुसँग सल्लाह गरेर मिलाउनेछौं । त्यतिबेलासम्म हाम्रो फोन वा म्यासेज पर्खेर बसिदिनु होला भनेर हाम्रो खेलाडीहरुलाई फोनमार्फत खबर गरिसकेको छ,' उनले भने ।
अध्यक्ष गुरुङले सातौं नेपाल कपलाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पोखरेली मञ्च युके र आफ्नो व्यक्ति तर्फबाट धन्यवादसमेत ज्ञापन गरे । उनका अनुसार प्रतियोगिता रेडिङस्थित रेडिङ क्रिकेट एन्ड हक्की क्लबमा भइरहेको थियो । उक्त प्रतियोगिताको मुख्य प्रायोजक पीपल मोर्टगेजका सूर्य गुरुङ रहेका छन् । पीपलले सन् २०१६ देखि नै प्रायोजन गर्दै आएको छ । प्रतियोगिताको विजेताले एक हजार ५०० पाउन्डसहित रनिङसिल्ड तथा उपविजेताले ७०० पाउन्ड प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले जनही १५० पाउन्डका साथमा ट्रफी पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान तथा रेफ्रीलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, नयाँ युवा क्रिकेट क्लब, क्वीन्स गोर्खा सिंगल्स क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब तथा रमाइलो क्रिकेट क्लबको सहभागिता रहेको छ । कार्यक्रमको कोअर्डिनेटर मञ्चका उपाध्यक्ष पवित्र गुरुङ, टिम कोअर्डिनेटर विनय पुन, प्रकाश गुरुङ र भीम महेन्द्र गुरुङ तथा भिडियो/क्यामेरामा दिपु गुरुङ रहेका छन् । यस्तै, मिडिया कोअर्डिनेटरमा मिलन तमु र वाचस्पति रेग्मी छन् ।