अहिले बेलायतमा नवीन सुब्बाद्वारा निर्देशित, दयाहाङ राई एवं पशुपति राई अभिनीत 'गाउँ आएको बाटो' चलचित्रको प्रिमियर शो विभिन्न सहरहरूमा भैरहेको र सबैजसो शो लगभग हाउसफुल छ । चलचित्रले आरंभदेखि अन्त्यसम्म प्रश्नहरूको चाङ लगाउनमा सक्षम रहेको छ । पापा राई माइला र छोरा बिन्द्रेको चरित्र वरिपरि पूरै चलचित्र घुमिरहन्छ । र, यी दुवै चरित्रहरूले विकासको नाममा पुँजीवादले ल्याएको उत्पादन, बजारीकरण र मुनाफाको चक्रव्यूहभित्र मानवीय संवेदना, माया-प्रेम , ईर्ष्या, क्रोध, सामाजिक मूल्य र मान्यता, सांस्कृतिक धरोहर, संस्कार, विश्वास, पारम्परिक सीप र कलाभित्र आएको विचलनदेखि लिएर आफ्नो मूल थातथलोबाट व्यक्ति कसरी पलायन हुँदो रैछ ? यी सम्पूर्ण प्रश्नहरूको खोजी गर्दै दर्शकलाई बुझाउने प्रयास गरेको छ- गाउँ आएको बाटो ।
एकातिर विकासले मानव जीवनलाई सरल, सहज र पहुँचवाला बनाउने प्रयास त अवश्य पनि गर्छ होला । यद्यपि विकास प्रतिस्पर्धा, बजारीकरण र पुँजीवादको बुई चढेर आउँदछ र यी सबैको पछाडि एकमात्र स्वार्थ लुकेको हुन्छ त्यो हो- मुनाफा । त्यो मुनाफाको लत लागेपछि अरू मानवीय सम्बन्ध र संवेदनाको कुरा गौण भएर जाँदोरहेछ । र यसले सर्वप्रथम सिकार स्थानीय, आदिवासी जनजाति समुदायहरूको जनजीवनलाई हो ।
चलचित्रभित्र उठान भएको राई माइलाको परिवारको कथा एक प्रतिनिधिमूलक कथा हो । अभाव त छ तापनि आफ्नै थातथलोमा पारम्परिक सीप र ज्ञानलाई उपयोग गर्दै दिन बिताइरहेका राई माइलाको परिवारमा बाटोले ल्याएको सुनामीले गर्नुसम्म गर्यो । राई माइला र उसकी श्रीमतीले छोरा बिन्द्रेले राम्रो पढोस्, शिक्षित हुन सकोस् भन्ने सपना बुनेका छन्, उनीहरूसँग छोरी गुमाएको पीडा पनि छ । एवं कारणले छोरा बिन्द्रेको प्रत्येक रहर र मागहरूलाई पूरा गर्न कटिबद्ध भएर लाग्ने क्रममा राई माइलाको परिवारमा सपना यसरी छिन्नभिन्न भयो कि अन्तिममा केही सीप नलागेर राई माइला र उनकी श्रीमती दुवै बसाइँ सर्न बाध्य हुन्छन् र यही दृश्यसँग चलचित्रको अन्त्य हुन्छ ।
यस चलचित्रभित्र नेपालको पूर्वमा घना बसोबास गर्ने किरात राई जातिको पृष्ठभूमिलाई पस्किएको छ । राई माइला जन्मेको, हुर्केको समाज र उसले मान्ने किराती संस्कार, तीन चुल्हामा पितृ मागको बास हुने र उक्त पवित्र चुल्हाप्रति जहिले सजग र समर्पित हुनु पर्ने कुरालाई यस चलचित्रले राम्ररी बुझाएको छ । यसलाई अत्यन्तै सकारात्मक पक्षको रूपमा लिन सकिन्छ ।
बाल मनोविज्ञानको पाटोलाई यस चलचित्रले राम्री दर्शाएको छ । बिन्द्रेको पारिवारिक पृष्ठभूमि अन्य सहपाठीभन्दा फरक रहेकोले बिन्द्रेको व्यक्तित्व पनि फरक देखिन्छ । पातमा सियो पसाई फिरफिरे बनाएर खेल्नु वा चश्मा लगाउने रहरलाई पूरा गर्न रिल प्वाल पारी कानमा भिरेको होस् उसले आफ्नो पापालाई बाँसको चोयाबाट विभिन्न सामग्रीहरू बनाएको हेरिरहँदा उसभित्र पनि नयाँ-नयाँ आविष्कार गर्दै रहरहरू पूरा गर्ने जीवटता झल्किन्छ । पापा, राई माइलाले छोरा बिन्द्रेको टीभी हेर्ने रहर पूरा गर्ने उद्देश्यले ‘फिफी' बेच्न धरान शहर झरेको धेरै दिन बितिसक्दा छोरा बिन्द्रेले टीभीको मोह त्याग गर्छ र छिटोभन्दा छिटो पापालाई धरानबाट फर्की आउने गुहार लगाउँछ तर विचरा !! हो यो दृश्य यस चलचित्रको पन्चिङ सट मान्नु पर्दछ ।
कुनै पनि भौतिक सामग्रीको मूल्य मायाभन्दा ठूलो हुनै सक्दैन । पुँजीवादले जति आकर्षक बजार थापे पनि त्यो मानवीय संवेदनाको अगाडि फिक्का हुन्छ र यही तथ्य यस चलचित्रले दर्शकहरूमाझ पस्किन सफल भएको छ ।
आजभोलि नेपाली चलचित्रले आफ्नो परिभाषा बदलिने प्रयास गर्दै गरेको भान हुन थालेको छ जो अत्यन्तै सकारात्मक हो । नेपाली माटोले भाषा, परिवेश, सामाजिक बनोट, संस्कृति, कला र कथाहरूको बहुआयामिक चरित्र बोकेको छ जो अति चाखलाग्दो छ । आवश्यकता के भने यही बहुआयामिक चरित्रलाई कथा, कविता, नाटक, उपन्यास, चलचित्रको माध्यमबाट उजागर गर्दै लाने हो भने नेपाली समाजले युगौंयुग लगाएर निर्माण गरेको आफ्नो बहुआयामिक स्वरूपबाट हामीमात्र होइन संसारलाई चिनाउन सक्ने कुरामा दुई मत हुने छैन ।
र अन्त्यमा , 'गाउँ आएको बाटो' कुशल निर्देशक नविन सुब्बाज्यू धन्यवादका पात्र हुनु हुन्छ । नायक दयाहाङ राईको उत्कृष्ट अभिनयको जति तारिफ गरेनी पुग्दैन होला । नायिका पशुपति राईको अभिनय जीवन्त रहेको छ । बिन्द्रेको चरित्रमा बाल कलाकारले दर्शकहरूको हृदयमा गहिरो छाप छोड्न सफल भएको छ । अर्गानिक नेपाली चलचित्र निर्माणले निरन्तरता पाइरहोस् । शुभकामना छ ।