लन्डन । तमु प्ये ल्हु संघ युकेको गृष्मकालीन वार्षिक भेटघाट तथा समर बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ । शनिबार २९ जुनका दिन स्यामुएल कोडी स्पोर्टस कलेज फार्नबोरोमा भव्य र सभ्य रूपमा कार्यक्रम भएको हो ।
बिहानैदेखि तमु गुरु पुरोहित पच्यु क्ल्हेप्रीद्वारा छ्योप त्हेँ र थासो त्हे गराई जीवन र जगतको भलाइको लागि मंगलाचरण गरिएको थियो । मनोरञ्जनका लागि विभिन्न रमाइला खेललगायत सांस्कृतिक कार्यक्रम भए ।
जसमा अन्तर भाईखलक रस्सा-कस्सी (Tug of War), छेलो र म्युजिकल चेयर खेलाइएको थियो । रस्सा-कस्सीको रमाइलो प्रतिस्पर्धामा प्हच्यु भाईखलक युकेले जीत हासिल गरेको थियो । केप्छे-म्ह्योब्छे-योज भाईखलक युके र ल्होँ-कुप्चे भाईखलक युकेले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । प्रतिस्पर्धामा क्रोम्छे-त्होर्जे-थिम्चे भाईखलक युके र टु क्ल्हेप्री भाईखलक युकेले समेत सहभागिता जनाएका थिए ।
त्यसैगरि, छेलो प्रतियोगितामा मानबहादुर केप्छे तमु १७.५ मिटरको रेकर्डसहित प्रथम भए । श्याम कोके तमुले द्वितीय स्थान हासिल गरेका थिए । नानी बाबुहरूका लागि खेलाइएको म्युजिकल चेयर पनि रमाइलो थियो ।
रस्सा-कस्सी प्रतियोगितामा प्रथम हुने प्हच्यु भाई खलक युकेले कप, स्वर्ण ट्रफी र नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी द्वितीय हुने केप्छे-म्होब्छे-योज भाईखलक युकेले सिल्भर ट्रफी र नगद पुरस्कार हात पारे भने तृतीय हुने ल्होँ-कुप्छे भाईखलक युकेले क्होँईवोँ ब्याज र नगद पुरस्कारमा चित्त बुझाए । छेलो विजेतालाई क्रेगीले सम्मान गरी नगद पुरस्कार प्रदान गरिएको थियो भने म्युजिकल चेयर विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
घमाइलो र रमाइलो वातावरणमा भएको विभिन्न खेलको समापनपश्चात् सांस्कृतिक भ्रमणको क्रममा नेपालबाट युके आएका राष्ट्रिय कलाकारहरू सविता प्हच्यु तमु, उषा प्ल्हेँ तमु, तिलक प्ल्हेँ तमु र नायिका लक्ष्मी कोके तमुलगायत स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । उनीहरूले विभिन्न सांगीतिक कोसेली पस्किएर माहौलको रौनकता बढाएका थिए भने विभिन्न क्षेत्रमा सफलता हासिल गरेको व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
मिनी मेलाका रूपमा आयोजना गरिएको कार्यक्रममा व्यावसायिक स्टल पनि राखिएको थियो भने चौरमै पोलेर तातो-तातो सेल रोटीसहित खानाको मिठो मिठो परिकारले सहभागीलाई लोभ्याएको थियो ।
कार्यक्रमको प्रमुख संयोजन संघका अध्यक्ष क्या. डेमबहादुर योज तमुले गरेका थिए । पूजा र राफल ड्रको संयोजन प्रथम उपाध्यक्ष पूर्णवीर प्हच्यु तमु खेगी समिति र आमा समूहले गरेका थिए भने सेटअप र विभिन्न खेलको संयोजन द्वितीय उपाध्यक्ष अमर त्होर्जे तमु र युवा समितिले गरेका थिए । वाउन्सी क्यासल र यातायातको संयोजन तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुले गरेका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन सांस्कृतिक संयोजक जुम टु क्ल्हेप्री तमु र सहसंयोजक विमला प्हच्यु तमुले गरे ।
टिकेटिङ, खाना, ड्रिंक्स, पीए-प्राविधिक, सेक्युरिटी, टेन्टिङ तथा ढुवानी, फोटो-भिडियो र सचिवालयको जिम्मेवारी क्रमशः कोषाध्यक्ष याम प्हच्यु, सहकोषाध्यक्ष झक पर्जु, खाना संयोजक कृष्णकाजी खक्यु, सहसंयोजक मोहन पर्जु, ड्रिंक्स संयोजक केशर प्ल्हेँ, सहसंयोजक लेख ल्हेँगे, प्रविधि संयोजक ईन्द्रेश ङोप्छे, सुरक्षा संयोजक चन्द्र योज, सहसंयोजक लुगुना म्होब्छे, प्रोपर्टी संयोजक डब्लूओ टु याम क्होला, सहसंयोजक सेर (चित्र) प्हच्यु, सञ्चार संयोजक नेत्र टु क्ल्हेप्री, सहसंयोजक किशोर प्ल्हेँ, फोटोपत्रकार मिलन ल्हेँगे र सचिव भेग च्हाक्ली र सहसचिव दिलिप तेलेंजे तमुले सम्हालेका थिए ।
अन्त्यमा अध्यक्षले उपस्थितलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।