लन्डन । सातौँ अल्डरसट भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ अल्डरसट ‘ए’ र महिलातर्फ मोनाले जितेको छ ।
अल्डरसट भलिबल क्लबको आयोजनामा शनिबार वेस्ले खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा अल्डरसट ‘ए’ले बागलुङ टिमलाई हराउँदै उपाधि जितेको हो । वेस्ट अफ थ्रीमा खेलाइएको खेलमा बागलुङ सोझो सेटमा स्तब्ध बनेको थियो ।
वेस्ट प्लेयर अल्डरसट भलिबल क्लबका सचिन दर्लामी घोषित भए । अल्डरसट मोनालाई तथा बालगुङ स्याङ्जा ‘ए’लाई हराउँदै फाइनल पुगेका थिए ।
उता, महिलातर्फ मोनाले विनचेस्टरलाई सोझो सेटमा स्तब्ध पार्दै उपाधि चुम्यो । पहिलो सेमिफाइनलमा सालिजालाई हराउँदै विनचेस्टर फाइनल पुगेको थियो । दोस्रो सेमिफाइनलमा मोनाले बेजिङस्टकलाई हराएको थियो ।
फाइनलमा विनचेस्टरलाई सोझो सेटमा स्तब्ध पार्दै मोनाले उपाधि चुम्यो । महिलातर्फ वेस्ट प्लेयर झरना श्रेष्ठ बनिन् । प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ ७ टिमले भाग लिएका थिए । यो बेलायतको भलिबल इतिहासमा सबैभन्दा धेरै टिम सहभागी भएको प्रतियोगिता भएको बताइएको छ ।
यसअघि २०१९ सालमा पनि अल्डरसट भलिबल क्लबले आयोजना गरेको प्रतियोगितामा १८ वटा टिम सहभागी थिए । खेल बिहान ९ बजे सुरु भएको थियो ।
प्रमुख अतिथि अल्डरसट भलिबल क्लबका संरक्षक तथा एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ रहेका थिए । विशेष अतिथिमा क्लबका अर्का संरक्षक शेरबहादुर सुनार, नेपाल भलिबल संघका महासचिव रमेश श्रेष्ठ तथा अल्डरसटका स्थानीय व्यवसायी तथा खेल सफल पार्न सहयोग आर्थिक तथा नैतिक सहयोग गर्ने व्यक्तित्व रहेका थिए । खेल तोकिएको समयमा नै सम्पन्न भएको थियो ।
पुरुषतर्फका विजेताले १ हजार ६०० पाउन्ड, उपविजेताले १ हजार १०० पाउन्ड नगद, प्रमाणपत्र, मेडल ट्रफी पुरस्कार पाएका छन् । सोही विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, डिफेन्डर, ब्लकले समेत पुरस्कार पाएका छन्।
यस्तै महिलातर्फ विजेताले ९०० पाउन्ड, उपविजेताले ५०० पाउन्ड प्राप्त गरेका छन् । विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल ट्रफी पुरस्कारसमेत प्रदान गरिएको छ । महिलातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सटरले पुरस्कार पाए ।
प्रतियोगिताको अवसरमा नेपाल बागलुङ समाज नौमती बाजाको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । खाद्य पदार्थ र पेय पदार्थका स्टलसमेत राखिएको थियो ।