पोखरा । पोखराका पाँच विद्यालयका विद्यार्थीका लागि निःशुल्क फुटबल प्रशिक्षण सुरु भएको छ । युनाइटेड कम्युनिटी नेपाल (युनिकन) को आयोजना, फिफा फाउन्डेसनको सहयोग, एन्फा कास्की, पोखरा महानगर खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा प्रशिक्षण सुरु भएको हो ।
‘फुटबल फर फ्युचर’ परियोजनाअन्तर्गत सञ्चालित अभिमुखीकरणको उद्देश्यमाथि प्रकाश पार्दै युनिकनका कार्यकारी निर्देशक विनोद न्यौपानेले सामुदायिक विद्यालयका विद्यार्थीहरू यस किसिमको अवसरबाट वञ्चित हुन नपरोस् भनी कार्यक्रम सुरु गरिएको बताए ।
कार्यक्रमबाट विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने उनको भनाइ छ। परियोजना पोखरा महानगरका बराही, कन्या, शितलादेवी, शिवशक्ति र अमरसिंह माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ ।
कार्यक्रममा उपस्थित प्रधानाध्यापक खेलाडी विद्यार्थीलाई खाजा, औषधी उपचार लगायतको सुविधाको प्रबन्ध गरिदिन आग्रह गरेका थिए । साथै विद्यार्थीहरूले अतिरिक्त समय दिनुपर्ने भएकाले अभिभावकलाई बोलाएर कार्यक्रमबारे जानकारी गराउँदा कार्यक्रम अझ प्रभावकारी हुने प्रधानाध्यापकहरूको भनाइ थियो ।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सनबहादुर लामाले यस किसिमको कार्यक्रम थोरै मात्रामा हुने गरेको र यसले जिल्लाका लागि नै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । त्यस्तै, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले कार्यक्रम राम्रो भएको र यस कार्यक्रमलाई सफल बनाउन सबै पक्षबाट साथ र सहयोग हुनुपर्ने धारणा राखे ।
प्रशिक्षण बिहानको समय गर्नु उपयुक्त हुने प्रशिक्षकले बताएका छन् । यसबाट ३०० जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । परियोजनाभित्र अन्तर विद्यालय फुटबल, कथा वाचन, शनिबार रंगशालामा भेला र व्यक्तिगत वृद्धि विकासको सहजीकरण जस्ता कार्यक्रम समावेश गरिएको छ ।
युनिकनका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला खेलकुद विकास समितिको सभाहलमा भएको थियो ।