लन्डन । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिने तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन (४२.१९ किमि)मा बेलायतवासी व्यवसायी तथा समाजसेवी ५१ वर्षीय भीम गुरुङले अनुभव बटुलेका छन् ।
७१ औं सगरमाथा दिवसका अवसरमा २९ मे २०२४मा आयोजित सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी गुरुङले ९ घण्टा ११ मिनेटमा पूरा गर्न सफल भएका हुन् । धावक गुरुङले विश्वको उच्च स्थानमा दौडने प्रतियोगितामा आफ्नो नाम लेखाउन यस पटक एभरेस्ट म्याराथनमा भाग लिएको बताए । उनले यदि एभरेस्ट म्याराथन दौडने हो भने राम्रो तयारी र समय निकालेर मात्रै जान सुझाव दिएका छन् । उनले छोटो समयको तयारी र हाइअल्टिच्युटको सिक्नेसका कारण सोचे जसरी सफलता हात पार्न नसकेको स्वीकारे ।
म्याराथनमा भाग लिन उनी २५ मेमा बेलायतबाट काठमाडौं विमानस्थल ओर्लिएर सोही दिन लुक्का पुगेका थिए । २३ वर्षभन्दा बढी समयदेखि होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध भीम बेलायतमा लोकप्रिय गोर्खा किचनका सञ्चालकसमेत हुन् । साढे २ दशकअघि देखि नै एथलेटिक्सका विभिन्न प्रतियोगितामा भाग लिँदै आइरहेका भीमले विश्वका सबै खालका चर्चित दौडमा भाग लिने उद्देश्य रहेको गोर्खा मिडियासँग सुनाए । '२९ सेप्टेम्बर २०२४ मा जर्मनीको बर्लिन म्याराथन भाग लिने योजनामा छु । उनीहरुले ५० औं एनिभर्सरी मनाउँदैछन् । त्यसमा म र सूर्य पीपल (व्यवसायी सूर्य गुरुङ) लगायत नेपाल रन टिम युकेका टिम सहभागी हुने छौं,' उनले भने, 'यो दौड बेलायतको एक किड्स् गोइङको च्यारिटीका लागि पनि हो । जहाँ डिसेबल चिल्ड्रेनको संरक्षण हुनेगर्छ ।'
धादिङको रुविभ्याली गाउँपालिकाका भीम फुटबल खेलाडी पनि हुन् । उनले करिब ८ वर्ष फुटबल खेलसमेत खेलेका थिए । युकेको अल्डरसट बस्दै आएका गुरुङ म्याराथनको अनुभव लिइसकेपछि आइतबार २ जुनमा युके फर्कँदै छन् ।
.....?
यस वर्षको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका थिए । कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो भएका हुन् । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गरे । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो भएका छन् ।
महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो भएका छन् । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।
सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।