लन्डन । बेलायतका नेपालीमाझ सबैभन्दा चर्चित मानिने गोर्खा कपको २२औँ संस्करण आज (आइतबार) हुँदैछ ।
क्वीन्स इभिन्यू फुटबल मैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक तमु धीं युकेले जनाएको छ । विभिन्न ५० टिमको सहभागिता रहने प्रतियोगिता बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने तमु धीं युके स्पोर्टस् सेक्रेटरी तथा २२औँ गोर्खा कप संयोजक क्या. दीपक घलेले जानकारी गराएका छन् । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टल पनि राखिने छन् ।
गोर्खा कप आफ्टर पार्टीका लागि गायक सुगम पोखरेललगायत कलाकार नेपालबाट आएका छन् ।
प्रतियोगितामा मेनतर्फ ३२, भेट्रानतर्फ १६ र महिलातर्फ २ टिमको सहभागिता रहनेछ । मेनतर्फका विजेताले ३ हजार पाउन्ड तथा उपविजेताले १ हजार ८०० पाउन्ड प्राप्त गर्नेछन् ।
यसैगरी, भेट्रानतर्फका विजेताले १ हजार ५०० पाउन्ड, उपविजेताले १ हजार पाउन्ड तथा महिलातर्फ विजेताले ६०० पाउन्ड र उपविजेताले ४०० पाउन्ड पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
मुख्य टिम, भेट्रान, लेडिज टिमको विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, टप स्कोरर, वेस्ट प्लेयर, डान्सरले पनि आकर्षक पुरस्कार पाउनेछन् ।