लन्डन । तमु धीं युकेको आयोजनामा यही मे २६ तारिखमा हुने २२औँ गोर्खा कपको तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतियोगितामा यस वर्ष ५० टिम सहभागी हुँदै छन् । मेनतर्फ ३२, भेटेरानतर्फ १६ र महिलातर्फ २ टिमको सहभागिता रहनेछ । आयोजकले खेलको ड्र पनि सार्वजनिक गरिसकेका छन् ।
मेनतर्फ सहभागी ३२ टोलीलाई ८ भागमा विभाजन गरिएको छ । सार्वजनिक गरिएको ड्र अनुसार ग्रुप ‘ए’मा एफसी तोङ्बा, नर्थोल्ट एफसी, ब्रामकोटे एफसी र टीडब्ल्यू वारियर्स रहेका छन् । ग्रुप ‘बी’मा ब्रिगेड ब्वाइज क्लब, ड्रिम टिम नेदरल्यान्ड, टु आरजीआर एफसी र पिटर्सबर्ग नेपाली समाज एफसी रहेका छन् । ग्रुप ‘सी’मा वाटरमेलन एफसी, इरिस लक, हाङ्थुम एफसी र तामाङ समाज युके रहेका छन् ।
ग्रुप ‘डी’मा प्लमस्टिड एफसी, म्यानचेस्टर नेप्लिज एफसी, धरान ११ एफसी र अक्सफोर्ड युथ एफसी छन् । ग्रुप ग्रुप ‘ई’मा सहारा युके एफसी, एफसी केन्नी, वेल्स एफसी र न्युनेटन नेप्लिज एफसी छन् ।
यसैगरी, ग्रुप ‘एफ’मा एलजी लायन्स, पीडी राइनोज पुनहिल, घान्द्रुक एफसी र जीएआरआरसी एसपी बीएन तथा ग्रुप ‘जी’ बासिङस्टोक युथ नेप्लिज कम्युनिटी, हिमालयन नेप्लिज स्कटल्यान्ड एफसी, राङभाङ समाज र खोसोभो एफसी छन् ।
ग्रुप ‘एच’मा एफसी केन्ट, टाङटिङ समाज युके, नेपाली ड्रिम टिम एफसी र दाजुभाइ एफसी रहेका छन् । हरेक टोलीले आफ्नो ग्रुपमा रहेका अरू टोलीसँग खेल्नेछन् । शीर्ष २ मा रहने टोली प्रिक्वार्टरफाइनलमा पुग्नेछन् । खेल विभिन्न ८ वटा मैदानमा हुनेछ ।
प्रिक्वार्टरफाइनलमा ग्रुप एको विजेता र बीको उपविजेता, ग्रुप बीको विजेता र ग्रुप एको उपविजेता, ग्रुप सीको विजेता र ग्रुप डीको उपविजेता, डीको विजेता र सीको उपविजेता भिड्नेछन् ।
यसैगरी, ग्रुप ईको विजेता र एफको उपविजेता, एफको विजेता र ईको उपविजेता, जीको विजेता र एचको उपविजेता तथा एको विजेता र जीको उपविजेताले अन्तिम ८ का लागि प्रतिस्पर्धा गर्नेछन् । हरेक खेलको विजेता टोली क्वार्टरफाइनलमा पुग्नेछन्। त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
उता भेटेरानतर्फका १६ टोलीलाई ४ ग्रुपमा विभाजन गरिएको छ । ग्रुप एमा हिमालयन एफसी, पोखरा युनाइटेड, न्युनेटन नेप्लिज एफसी र किंस गेट मर्करी, ग्रुप बीमा ब्रिगेड ब्वाइज क्लब, मालेपाटन एफसी, आसफोर्ड भेटेरान र गण्डकीयन रहेका छन् ।
यसैगरी, ग्रुप सीमा धरान ११ एफसी, त्रिवेणी क्लब, खाम्लालुङ एफसी र लमजुङ समाज युके एफसी तथा ग्रुप डीमा इलाम एफसी, मोना एफसी, इन्टेक २००० र नखिपोट युथ क्लब रहेका छन् ।
भेटेरानका खेल पनि नकाउटकै आधारमा खेलाइनेछ । ग्रुपका हरेक टोलीले एकअर्कासँग खेल्नेछन् । विजेता र उपविजेता अन्तिम आठमा पुग्नेछन् ।
महिलातर्फ भने २ टोली मात्र रहेका छन् । यी २ टोली एमके लेडिज एफसी र रन्डरबोल्टस एफसीबीच एकै पटक फाइनल खेल हुनेछ ।
क्वीन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टल पनि राखिने आयोजकले जनाएका छन् ।