लन्डन । नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार इंग्ल्यान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेलेको छ । उक्त खेलमा २-० ले पराजित भए पनि नेपालका लागि ऐतिहासिक बनेको छ ।
खेल बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा भएको थियो । वर्षाका कारण पहिलो हाफमा नेपालको राम्रो प्रदर्शन गर्न सकेन । र दुई गोल खान पुग्यो । दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्यो र फुटबलको जननी मुलुक इंग्ल्यान्डको टोलीलाई केही दबाबमा राख्न सक्यो ।
टिम कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले केही उत्कृष्ट बचाउ गरेका थिए । उनी ‘म्यान अफ दि म्याच’ पनि घोषित भए । गोल गर्न नसके पनि पहिलो पटक बेलायती भूमिमा खेल खेल्न पाउनुलाई उपलब्धि मान्नुपर्ने उनले बताए ।
आठ हजार क्षमताको रंगशालामा दर्शक भरिभराउ थिए । उनीहरूले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए । खेल हेर्न बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ता पनि उपस्थित थिए ।
नेपालीहरू घण्टौँ ड्राइभ गरेर स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायत स्थानबाट मैदानमा जम्मा भएका थिए । खेलपछि अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रविन्द्रजङ लामिछानेलगायतले खेलाडीलाई क्याप वितरण गरेका थिए ।
अल्डरसट टाउन फुटबल क्लवले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । खेल सफल पार्न नेपाली समुदायका कमल कोने गुरुङले संयोजक तथा दिलरास गुरुङ र कुमार गुरुङले टिकट संयोजकको भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, एनआरएनए युके पूर्वअध्यक्ष तथा समाजसेवी सूर्य गुरुङले आयोजक अल्डरसट टाउन फुटबल क्लब र एन्फाबीच समन्वयलगायत महत्त्वपूर्ण योगदान गरेका थिए । नेपाली टोली विश्वकप छनौटको तयारीमा छ ।