लन्डन । इंग्ल्यान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली लन्डन आइपुगेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस, म्यानेजर उत्तम राजभण्डारी, कप्तान किरणकुमार लिम्बूसहित खेलाडी तथा एन्फा पदाधिकारी लन्डन उत्रिएका हुन् ।
दुई देशबीचको ऐतिहासिक खेल आगामी मे ६ मा अल्डरसट टाउन एफसीको मैदान ईबीबीमा दिउँसो तीन बजेदेखि हुने तय छ ।
खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टिमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ । लन्डन हिथ्रो विमानस्थलमा उत्रिएको नेपालको टोलीलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताले स्वागत गरेका थिए ।
लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, समाजसेवी व्यवसायी रविन्द्रजङ लामिछाने, एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, इंग्ल्यान्डसँगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक दिलरास गुरुङलगायतले स्वागत गरेका थिए ।
नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले इंग्ल्यान्डको टोलीसँग खेल्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफूहरूले यसको सदुपयोग गर्ने बताए ।
मुख्य प्रशिक्षक एनेसले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको र यसले ठुलो आत्मविश्वास प्रदान गर्ने जनाए । टिम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलो पटक ऐतिहासिक खेलका लागि अवसर जुटाएकामा आयोजकप्रति आभार व्यक्त गरे ।
पहिलो पटक हुन लागेको ऐतिहासिक खेल हेर्न उल्लेख्य रूपमा दर्शकको उपस्थिति रहने आयोजकले बताएका छन् । संयोजक कमल कोने गुरुङले सिटिङतर्फको टिकट बुधबार नै सकिसकेको बताएका छन् । खेलको तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।