काठमाडौँ । इंग्लयान्ड ‘सी’सँग मैत्रीपूर्ण फुटबल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रोब फेन, एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलगायतले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए ।
नेपालले आगामी वैशाख २४ गते (मे ६) इंग्ल्यान्डको अल्डरसटमा इंग्लिस टोलीसँग खेल्दैछ । बिदाइ कार्यक्रममा नेपालका कप्तान किरणकुमार लिम्बूले छोटो समयको तयारी रहे पनि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘इंग्लिस टोलीसँगको खेलका लागि हामी उत्साहित छौँ । टोलीमा नयाँ खेलाडी छन् । ती खेलाडीले इंग्लिस टोलीसँग फुटबल खेल्न पाउनु सुखद पक्ष हो।’
यसैबीच, राजदूत फेनले बच्चा बेला आफूले पनि फुटबल खेल्ने गरेको स्मरण गर्दै नेपाली टोलीलाई सकारात्मक नतिजाका लागि शुभकामना दिए । नेपाली फुटबललाई सहयोग गर्न आफू सदैव तयारी रहेको उनको भनाइ थियो ।
एन्फा अध्यक्ष नेम्बाङले यस खेलका लागि पहल गर्ने पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई आभार व्यक्त गरे । कोरोना संक्रमणका कारण यसअघि हुन नसकेको खेल अहिले हुन लागेको उनको भनाइ थियो ।
नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले इंग्लिस फुटबलको तल्लो डिभिजनको टोली भए पनि बलियो हुने बताए । अधिकांश खेलाडी प्रिमियर लिग खेल्न लक्ष्यसहित त्यो टोलीमा रहेकाले खेलाडी पनि व्यावसायिक रूपमा उत्कृष्ट हुने प्रशिक्षक एनेसको भनाइ थियो । नेपालमा पछिल्लो समय धेरै खेलाडी बिदेसिएकाले यो टोली कम अनुभवी रहेको उनको भनाइ थियो ।
कार्यक्रममा एन्फा अध्यक्ष नेम्बाङले राजदूत फेनलाई नेपालको जर्सी पनि हस्तान्तरण गरेका थिए । यस्तै, मुख्य प्रशिक्षक एनेसले सोमबार नै २३ सदस्यीय टोली पनि घोषणा गरेका छन् ।
नेपाली टोलीमा कप्तान लिम्बूसहित अभिषेक बराल र विशाल सुनार गोलकिपर रहेका छन् । डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् ।
यस्तै, मिडफिल्डरमा फत्तेमान घले, मणीकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बू तथा फरवार्डमा दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ कार्की, हिसुब थपलिया, समीर तामाङ र सञ्जीव विष्ट छन् ।