काठमाडौँ । पोखरा स्पोर्ट्स अवार्डको आठौँ संस्करणका लागि चार विधामा मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पत्रकार सम्मेलन गरेर हरेक विधामा तीन खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मञ्चले बर्सेनि गर्दै आएको स्पोर्ट्स अवार्डको आठौँ संस्करण यही वैशाख २८ गते पोखरा सभागृहमा हुँदै छ । विगत एक वर्षको प्रदर्शनका आधारमा मनोनयन सार्वजनिक गरिएको मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए । यसवर्ष पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेका छन् ।
महिलातर्फ आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आईटीएफ तेक्वान्दोकी सुस्मिता थापामगर परेका छन् । यसैगरी, १७ वर्ष मुनिका खेलाडीबीच प्रतिष्पर्धा हुने उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की मनोनयनमा परेका छन् । उत्कृष्ट प्रशिक्षकतर्फ टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु रहेका छन् ।
अध्यक्ष बरालका अनुसार स्पोर्ट्स अवार्ड सात विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गरिनेछ । वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले जनही नगद ३५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
मञ्चले स्पोर्ट्स अवार्डलाई बृहत् बनाउन मञ्चका अध्यक्ष बरालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जनाएको छ । मुल आयोजक समितिको सहसंयोजकमा मञ्च उपाध्यक्ष श्रेष्ठ रहेका छन् ।
यसका अलावा विभिन्न ११ वटा उपसमितिका संयोजक र सहसंयोजक समेत चयन गरिएको छ । जस अनुसार आर्थिक संकलन उपसमितिको संयोजक कविता घर्ती मगर र सहसंयोजक शशी कुमार पौडेललाई जिम्मेवारी दिइएको छ ।
प्रचार प्रसार उपसमितिको संयोजकमा मञ्चका महासचिव पौडेल, सहसंयोजकमा विजय नेपाल र सदस्यहरूमा रिखीराम जिसी, धन बहादुर गुरुङ सुमन, विजय नेपाली रहेका छन् ।
अन्तर्राष्ट्रिय समन्वय उपसमितिको संयोजकमा केशव पाठक र सहसंयोजकमा सुदर्शन रञ्जित, स्वागत सत्कार उपसमितिको संयोजकमा एकराज गिरी र सहसंयोजकमा फडिन्द्र अकिञ्चन रहेका छन् ।
स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा मान बहादुर घर्ती र सह संयोजकमा राम गुरुङ, फोटोग्राफी तथा भिडियोग्राफी उपसमितिको संयोजकमा उमेश पुन र सहसंयोजकमा वसन्त शेर्पा रहेका छन् ।
मञ्च व्यवस्थापन समितिको संयोजकमा सन्देश श्रेष्ठ र सहसंयोजकमा धन बहादुर गुरुङ सुमन, सांस्कृतिक कार्यक्रम उपसमितिको संयोजकमा मन क्षेत्री र सहसंयोजकमा सुशील नेपाली छन् ।
संघसंस्था समन्वय उपसमिति संयोजकमा रोहितराज पराजुली र सहसंयोजकमा कृष्ण दवाडी, मूल्याकंन तथा अनुगमन उपसमिति संयोजकमा रामकृष्ण ज्ञवाली र सह–संयोजकमा गणेश बराल (ढाकामोहन), क्विक रेसपोन्स उपसमिति संयोजकमा राजु गिरी र सहसंयोजकमा अर्जुन गाहा सुशान्त रहेका छन् ।
अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद् गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले सघाउनेछन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रूपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एन्ड स्पा रहेको छ ।
यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाइगर गुप्र अफ पोखरा नेपालले प्रायोजन गर्ने सम्झौता भएको छ ।
यसका अलावा टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रालि, सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप/आभ्या क्लब, मादी गाउँपालिका, बुमराङ रेष्टुरेन्ट लेकसाइड, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एन्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ हर्बल ब्युटी पार्लर, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रूपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ ।
गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाका रूपमा २०५७ सालमा मञ्चको स्थापना भएको हो । मञ्चमा हाल ७४ जना खेल पत्रकार आबद्ध छन् ।