कास्की । पर्यटकीय राजधानी पोखरामा आगामी शनिबार एशियाकप तथा साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप हुँदै छ । नेपाल ट्रायथोलन संघको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथोलन संघको व्यवस्थापनमा पोखराको च्याम्पियनसिप हुन लागेको हो ।
च्याम्पियनसिपमा विभिन्न १५ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल ट्रायथोलन संघका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटाले जानकारी दिए । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, यूएई, प्यालेस्टाइन, उरुग्वे, अस्ट्रिया, अल्जेरिया, न्युजिल्यान्ड, लक्जम्वर्ग, जापान, भारत, मरिसस, काजाकास्तान, बांग्लादेश र उज्वेकिस्तानका खेलाडीले सहभागिता जनाउने छन् ।
यस वर्ष वल्र्ड ट्रायथोलन संघका अध्यक्ष मारिसोल कासादो र महासचिव एन्टोनियो आरामानी च्याम्पियनसिपमा सहभागी हुने भएकाले खेलकुद क्षेत्रका लागि ठूलो महत्त्व रहने उपाध्यक्ष देवकोटाले बताए । जसका लागि अध्यक्ष कासादो बिहीबार नै नेपाल आएकी छन् ।
ट्रायथोलनमा स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुनेछ । स्प्रिन्ट विधाअन्तर्गत सुरुआतमा फेवातालमा ७५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ हुनेछ । साइक्लिङको समाप्तिपछि पाँच किलोमिटर दौड हुनेछ । पौडी फेवातालमा हुनेछ ।
दौड गौरीघाट–सहिदचोक, मुस्ताङचोक, विरौटाचोक, ड्यामसाइड, राष्ट्र बैंकचोक हुँदै गौरीघाटमा पुगेर समापन हुनेछ । पौडी, साइक्लिङ र दौड गरी तीनवटै प्रतिस्पर्धाको समयका आधारमा विजेता चयन हुनेछन् ।
प्रतियोगिताले पोखराको अन्तर्राष्ट्रिय क्षेत्रमा थप प्रवर्द्धन तथा खेलकुद विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । च्याम्पियनसिपको दिनमा पोखराको लेकसाइड क्षेत्रको सडक खाली गराइने भएको छ ।
सहभागी खेलाडीको सुरक्षालाई मध्यनजर गरी प्रतियोगिताको रुटमा यातायात बन्द गरिने नेपाल ट्रायथोलन संघ गण्डकीका अध्यक्ष डिल्लीराज सुवेदीले बताए ।