लन्डन । नेपाल रन युकेको निमन्त्रणामा आगामी आइतबार हुने विश्वप्रसिद्ध लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की बेलायत आइपुगेका छन् ।
नेपाल रनका युकेका कोषाध्यक्ष रवीन्द्र अधिकारी, विष्णु देवानलगायत पदाधिकारीले उनलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाल रन युकेले नवौँ धारा नेपालगन्ज म्याराथन विजेतालाई उपहारस्वरुप लन्डन म्याराथनमा भाग लिने प्रबन्ध मिलाएको हो । गोपी लन्डनमा रहुन्जेलसम्मको व्यवस्थापन नेपाल रन युकेले नै गर्ने क्लबका प्रशिक्षक सन्तोस राईले बताए ।
प्रवासमा नेपाली समुदायका साथै नेपालमा दौड संस्कृतिको विकास तथा सम्भावना बोकेका धावकलाई विश्वमा प्रतिस्पर्धा गर्न सहयोग गर्ने उद्देश्यले गोपीलाई लन्डन म्याराथनको स्थान प्रदान गरिएको क्लबका सचिव जगन कार्कीको भनाइ छ ।
यसैबीच यस पटक नेपाल रन युकेका ५६ धावकले लन्डन म्याराथन दौडिने भएका छन् । लन्डन म्याराथनमा दौडने क्लबका सदस्यहरूले विभिन्न च्यारिटी फन्डरेज पनि गरिरहेका छन्। धावकमध्येका एल सुर्य गुरुङले मिरा राई इनिसिएटिभका लागी २० हजार ८०१ पाउन्ड संकलन गरेर हालसम्म लन्डन म्याराथन दौडिने नेपालीको फन्डरेज रेकर्ड ब्रेक गरेका छन् ।
भविष्यमा अझ धेरै प्रतिस्पर्धीलाई सहभागी गराउन प्रयास गर्ने, नेपाली धावकलाई तालिम र रन इभेन्टलाई उपकरण सहयोग गर्दै दौड प्रवर्द्धन गर्ने उद्देश्य रहेको क्लबका अध्यक्ष पाण्डव महतोले बताए । नेपाल रन क्लब बेलायतको ‘इंग्ल्यान्डड एथलेटिक्स’मा दर्ता भएको नेपाली धावकहरूको क्लब हो ।
गोपीले १३औँ दक्षिण एशियाली खेलकुदमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । गत नोभेम्बरमा नेपालगन्ज म्याराथन दुई घण्टा २१ मिनेट ३९ सेकेन्डमा समापन गर्दै विजेता बनेका थिए । उनले तयारी राम्रो भएकाले लन्डन म्याराथनमा उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।