लन्डन । बेलायतवासी नेपाली समुदायमा लोकप्रिय फुटबल प्रतियोगिता गोर्खा कप २०२४ आउँदो २६ मे आइतबार हुँदै छ । २२ औं संस्करणको उक्त प्रतियोगिता तयारीबारे आयोजक तमु धीं युकेले बुधबार १७ अप्रिलमा भर्चुअल माध्यमबाट गहन छलफल गरेको छ ।
अल्डरसट ह्याम्पसायर क्वीन्स एभिन्यू स्पोर्ट्स मैदानमा हुने प्रतियोगितालाई फरक र प्रभावकारी रुपमा सञ्चालन गर्ने विषयमा गहन छलफल भएको तमु धीं युकेले जनाएको छ । तमु धीं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको बैठकमा २२ औं गोर्खा कप तयारीका विषयमा बढी केन्द्रित थियो । बैठकमा यसपटक गोर्खा कपमा सहभागीलाई सहजताका लागि प्रतियोगितास्थलमा भित्रिने र बाहिरिने ढोका फरक गरिने र त्यस कार्यका लागि जनशक्ति धेरै आवश्यक पर्ने विषयमा छलफल भएको थियो ।
फुटबल प्रतियोगिताको विस्तृत विवरण लेफ्टिनेन्ट कुसाङ गुरुङ र कुमार गुरुङले जानकारी गराएका थिए भने उपाध्यक्ष जुमकाजी गुरुङले एडमिनबारे बताएका थिए । अतिथिबारे उपाध्यक्ष परशु गुरुङले र उपाध्यक्ष कमल गुरुङले स्टल र स्पोन्सरका विषयमा ब्रिफिङ गरेका थिए । बैठकमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने बैठक सञ्चालन महासचिव डा विशाल गुरुङले गरेका थिए ।
यसैबीच, यस वर्षको गोर्खा कपमा पुरस्कार राशि वृद्धि गरिएको छ । मुख्य टिमतर्फ ५ सय पाउन्ड बढाएर ३ हजार पाउन्ड पुर्याइएको छ । भेटेरानतर्फ १२ सय पाउन्डबाट १५ सय पाउन्ड पुर्याइएको आयोजकले जनाएको छ । विजेता, उपविजतालाई नगद पुरस्कारसँगै ट्रफी र प्रमाणपत्र दिइनेछ । सबै विधाका उत्कृष्ट खेलाडी, टप स्कोरर, मुख्य टिम र भेटेरनतर्फ वेस्ट म्यानेजरलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने
प्रतियोगितामा सबै विधाका गरी ५० टिमले भाग लिने छ । मेन टिम ३२ (१६-३८ वर्ष उमेर समूह), भेटेरानतर्फ १६ टिम (४० वर्षमाथि), महिला २ टिमले प्रतिस्पर्धा गर्ने छन् । टिम दर्ता अप्रिल १४ देखि मे ११ सम्म जारी रहने २२ औं गोर्खा कप संयोजक तथा खेलकुद सचिव क्या दिपक घलेले जानकारी दिए ।
गोर्खा कपमा खेलकुदसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् । नौमती बाजा र गीत तथा सांस्कृतिक नाच पनि देखाइने छ भने विभिन्न स्टलहरु राखिने छन् ।