लन्डन । पोखरेली मञ्च युकेले पीपल पातौँ नेपालकप टी२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता आगामी जुन ३० देखि जुलाई ७ सम्म रेडिङस्थित रेडिङ क्रिकेट एन्ड हक्की क्लबमा हुने मञ्चका अध्यक्ष करम गुरुङले जानकारी दिए ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक पीपल मोर्टगेजका सूर्य गुरुङ रहेका छन् । पीपलले सन् २०१६ देखि नै प्रायोजन गर्दै आएको छ ।
प्रतियोगिताको विजेताले एक हजार ५०० पाउन्डसहित रनिङसिल्ड तथा उपविजेताले ७०० पाउन्ड प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले जनही १५० पाउन्डका साथमा ट्रफी पाउनेछन् । हरेक खेलको म्यान अफ द म्याचलाई ट्रफी प्रदान तथा रेफ्रीलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
उक्त प्रतियोगितामा हिमालयन क्रिकेट क्लब, नयाँ युवा क्रिकेट क्लब, क्वीन्स गोर्खा सिंगल्स क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, खुकुरी क्रिकेट क्लब तथा रमाइलो क्रिकेट क्लबको सहभागिता रहनेछ ।
अध्यक्ष गुरुङका अनुसार सहभागी हुन चाहने टिमका लागि इन्ट्री शुल्क ३०० पाउन्ड राखिएको छ । लन्डनस्थित नेपाली दूतावासका प्रतिनिधि प्रमुख अतिथि रहनेछन् । रेडिङ बरो काउन्सिल, एनआरएनए युकेका प्रतिनिधि र काउन्सिलर विशेष अतिथि तथा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथि रहने बताइएको छ ।
कार्यक्रमको कोअर्डिनेटर मञ्चका उपाध्यक्ष पवित्र गुरुङ, टिम कोअर्डिनेटर विनय पुन, प्रकाश गुरुङ र भीम महेन्द्र गुरुङ तथा भिडियो/क्यामेरामा दिपु गुरुङ रहेका छन् । यस्तै, मिडिया कोअर्डिनेटरमा मिलन तमु र वाचस्पति रेग्मी छन् ।
क्रिकेट प्रतियोगिता गर्न ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी एसोसिएसनले सहयोग गर्ने मञ्चले जनाएको छ ।