लन्डन । पाँचथर समाज सेवा युकेको प्रतिष्ठित फुटबल प्रतियोगिता ११ औं संस्करणको ‘पाँचथर कप–२०२४’ आउँदो मे ४ तारिखमा हुने भएको छ ।
हान्स्लोस्थित क्रानफोर्ड सामुदायिक कलेज, हाईस्टिमा फुटबल टुर्नामेन्ट हुन लागेको पाँचथर समाज सेवाका अध्यक्ष शान्ति लिम्बूले जानकारी दिएकी हुन् । उनका अनुसार बिहान १० देखि बेलुका ७ बजेसम्म हुने प्रतियोगितामा मुख्य टिम, भेट्रान, सुपर भेट्रान र महिला टिमसहित चार विधामा प्रतिस्पर्धा हुनेछ ।
मुख्य टिमको पुरुष १७ वर्षमाथिका विजेताले १ हजार पाउन्ड र ट्रफी र रनरअपले ५०० पाउन्डसहित ट्रफी पुरस्कार पाउनेछन् । यस्तै भेट्रान ३७ वर्षमाथिका विजेताले ७०० पाउन्डका साथमा ट्रफी तथा उपविजेताले ४०० पाउन्ड र ट्रफी, ४५ वर्षमाथिका सुपर भेट्रानका विजेताले ५०० पाउन्ड र ट्रफी तथा उपविजेताले ३०० पाउन्ड र ट्रफी प्राप्त गर्नेछन् ।
यस वर्षदेखि महिला विधा पनि थप गरिएको अध्यक्ष शान्तिले बताइन् । उनका अनुसार यस विधामा १८ वर्षमाथिका महिलाले टिममा समावेश गरिनेछ । महिलातर्फ पनि विजेता तथा उपविजेताले नगद पुरस्कार र ट्रफी पाउनेछन् । खेलाडी दर्ता यही अप्रिल ३० तारिखसम्म दिइएको छ । दर्ता शुल्क २०० पाउन्ड छ ।
प्रतियोगितामा नेपाली तथा विदेशी खेलाडीको सहभागिता रहने आयोजकको भनाइ छ । अध्यक्ष लिम्बूले यस वर्षको प्रतियोगितामा ३५ टिमले भाग लिनेछन् । फुटबल प्रतियोगिता सफल पार्न संयोजक सन्देश लिम्बू तथा सहसंयोजकहरुमा प्रताप तामाङ र योगेन्द्र तावा छन् । पाँचथर समाज सेवाको प्रतिष्ठित इभेन्ट पाँचथर कपको उद्घाटन समारोह संस्थापक सल्लाहकार दिल सम्बाहाम्फेको प्रमुख आतिथ्यतामा हुनेछ ।
प्रतियोगतास्थलमा विभिन्न खाना तथा व्यवसायका स्टल पनि राखिने छन् । बेलायतमा रहेका नेपाली समुदाय र युवामाझ फुटबलको स्तर बढाउनका लागि प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष लिम्बूले बताइन् । उनले प्रतियोगिताबाट बचेको रकम विभिन्न च्यारिटीमा सहयोग गरिने प्रस्ट पारिन् ।
यो समाज सन् २००९ मा स्थापना भएको हो । शान्ति पहिलो महिला अध्यक्ष हुन् ।