पोखरा । आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद् गण्डकीले सहकार्य गर्ने भएको छ ।
मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् । भेटमा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्वअध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो ।
आगामी वैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिएको मञ्चले जनाएको छ । बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिका संयोजक तथा सहसंयोजकबीच छलफल राखिएको मूल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए ।
अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सरकारको विशेष सहयोग रहनेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद्ले समेत अवार्ड कार्यक्रममा सघाउनेछन् । प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अफिसियल रिसोर्टको रूपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एन्ड स्पा रहेको छ भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई ऊर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।