मान्छेको आयु अथवा सुन्दरता उसको रहनसहन र लवाइखुवाइमा निर्धारित हुने गर्दोरहेछ | सुखमा हुर्के बढेका मान्छेमा बुढ्यौलीपन ढिलो आउने गरेको देखिन्छ, मेरो भन्नुको तात्पर्य गरिब तथा पिछडिएको मुलुकतिर धेरै दु:ख र संघर्ष गर्नुपर्ने भएकोले चाँडै बुढ्यौलीपन आएको मैले महसुस गरेकी छु | तर विकासोन्मुख देशहरूमा भने विलासिताका अनेकौं साधन उपभोग गरेर आफ्ना आयु घटाइरहेका हुन्छन् अचेल |
यतिखेर म काममा छु, ब्रेक टाइमको समय सदुपयोग गर्न मोबाइल हातमा लिएर खेलाइरहेकी छु, अर्को एकजना बुढो-बुढो जस्तो देखिने केटा ठ्याक्कै मेरो अघिल्तिर बसेर मस्त चुरोट पिइरहेका छन् | मानौं ऊ चुरोट तान्नकै लागि यो धर्तीमा अवतरण भएको हो | ऊ चुरोटलाई यस्तरी माया गरेर तान्छ कि हेर्नेलाई समेत मोहित तुल्याउँछ | हेर्दा लाग्छ, उसले तानिरहेको त्यो चुरोट कहिल्यै नसकियोस् | अझ भनौं उसले चुरोट तानेर आकाशतर्फ हेर्दै धुवाँ फाल्ने कला गर्भमै सिकेको हो |
उसको नाकको पोरोबाट धुवाँ होइन एउटा पहराबाट थुप्रै छिछिमिराहरू निस्केर उड्दै छन् | म छक्क पर्दै हेर्छु कसरी जानेको होला यो केटाले धुवाँ निलेर छिछिमिरो बनाउन ? आफ्नो अघि टेबलमा लडिरहेका स्याउ र सुन्तलाहरूले उसलाई पर्खेर बसिरहेका छन् | तर उसलाई ती फलहरू खाने मनै छैन बरु त्यो तानिरहेको चुरोट सक्नासाथ अर्को सल्काउन भ्याउँछ तर ती स्वास्थ्यवर्दक फलहरू खान पट्ट्कै भ्याउँदैन |
कति सिध्यायो होला उसले उहिलेदेखि अहिलेसम्म तानेर चुरोटका खिल्लीहरू ? उसले चुरोटमा फालेको पैसा जम्मा गर्दा कति हुन्थ्यो होला ? ब्यर्थै म सोचिरहन्छु । आफ्नो अघि जे देखिन्छ त्यै चिजको नालीबेली छिचोल्ने गरी सोचिरहने मेरो यो आदत कहिल्यै गएन | सोच्ने वस्तु केही नपाएझैं आफैसँग रिस उठ्छ मलाई |
तर आफ्नो अघि सुनको डल्ला र एक बन्डल चुरोट राखेर कुन रोज्छस् भन्दा चुरोट नै रोज्लाजस्तो त्यो केटाको चुरोट तान्ने चटक नहेरी बस्नै सकिरहेकी छुइनँ | चुरोटप्रतिको मोह कति उमेरदेखि बस्यो भनि सोध्न नपाएको छटपटीले मन उधिनीरहेछ तर सोध्ने हिम्मत छैन किनकि ऊ र म सँगै काम गर्ने स्टाफ हौं, हाम्रो पहिलो भेटको दिन मैले ताइलो (दाइ) भन्दा उसले रिसाएर "नेंह किदो सोई आ ?" (तँ कति वर्ष हो ?) भनि उल्टै प्रश्न गरेपछि मैले पनि हाँस्दै आफ्नो उमेर भनेथें |
त्यसपछि एकपल्ट शिरदेखि पाउसम्म मलाई हेरेर "नंह छत् लिन साइगो नेंह आ चिम्चिआ" म, तँ भन्दा सात वर्ष सानो रहेछु बुझिस् ? भनेर झर्किएको थियो | त्यसबेला उसको त्यो विरोधलाई समर्थन गर्दै नबुझ्ने गरी मेरो आफ्नै भाषामा पटमुर्ख भनेथें | मुर्ख यसमानेमा कि ! उसको र मेरो
पहिलोपल्ट परिचय हुँदैथ्यो, म नेपाली थिएँ र मेरो संस्कारमा बिना साइनो बोल्ने चलन छैन । त्यसैले मलाई नराम्रो लागेन । बरु मेरो नेपालीपन र संस्कारलाई सम्मान गरेकोमा गौरव महसुस गरें |
तर पनि त्यस दिनको घटनाले मान्छेको लुक्स हेरेर उसको उमेर ननाप्नु रहेछ भन्ने कुरो भने सिकायो | मैले उसको त्यो भनाइलाई शिक्षाको रुपमा नलिएको भए म पनि विकल्प खोजेर तमोरझैं उर्लिन्थें होला, लिम्बुको छोरी मुकुम्लुङ्गमाले थुक्मा गर्थ्यो (देउता उत्रिन्थ्यो) होला, युमा थेबाको चोत्लुङ्ग ढल्नेगरी हुचिलझैं कुर्लेर त्यसको सातो खाइदिन्थे होला ? धन्न मुर्खसामू मुर्ख बन्नु झन् मूर्खता हो भन्ने ज्ञान सानैमा आमाले सिकायो र मात्र जोगियो त्यो "ताइलोक यान" (चाइनाको मान्छे) यो पनि सुटुक्क भनेको पो ! उसले सुन्नेगरी तँ ताइलोक यान भन्यो भने सानो रिसाउँदैन । उसलाई खुब "हङकङ यान" (हङकङ) को मान्छे भन्नु रे |
उनीहरूको देशप्रतिको यस्तो व्यवहार देख्दा अचम्म पनि लाग्छ र माओत्सेतुङको सिद्धान्तप्रति दया जागेर आउँछ | अनि त्यस्तो डरलाग्दो आन्दोलनको इतिहास पल्टाएर अध्ययन गर्न मन लाग्छ, किनकि म राजनीतिप्रति त्यति चासो नलिने भएर होला अझैसम्म बुझेकी छुइनँ । चाइनीजहरूको
आफ्नो देश र राष्ट्रप्रति बफादार बन्न नचाहनुको कारण ! के माओ सिद्धान्त अहिलेका पुस्ताका लागि गलत छ त ?
म त आफ्नो देशको नाम गौरवसाथ छाती फुलाएर नेपालको हुँ भन्छु तर चाइनीजहरू ताइलोक (ठूलो चाइना) को भन्दा सारै रिसाउँछन्
| तर उनीहरूले जति इन्कार गरे पनि उनीहरूको अनुहार र बोलिको लवजले उनीहरू ठूलो चाइनाको हो भन्ने बताइहरेको हुन्छ |
खासै पत्यार नलाग्ने अथवा उसले उमेर ढाँटेझैं लाग्ने उसको त्यसदिनको कुरोको प्रतिकार गर्ने क्षमता म मा पनि नभएको कहाँ हो र ? तर मैले त्यति सरी भन्दैमा मेरो संसरकै अग्लो सगरमाथा होचो हुँदैन भन्ठानेर नबुझे पनि बुझेंझैं गरी सरी भनेर सम्झौताको हात अघि बढाएकी थिएँ | त्यसपछि हामी काम गर्ने थुङ्ग्सी (सँगै काम स्टाफ) भएका छौं | यतिखेर उसले अघिल्लो खिल्ली चुरोट सकेर अर्को मुखमा च्यापिसकेको छ |
केही दिनअघि कम्पनीले हामीलाई एकै ठाउँ राखेर सुरक्क्षा (सेफ्टी)को तालिम दिलायो उहीं दिन हामी सबैले आ-आफ्नो नाम र जन्म मिति लेख्नुपर्थ्यो, त्यहाँ पत्ता लाग्यो ऊ साँच्चै नै सात वर्षले सानो रहेछ म भन्दा | त्यसदिन देखिएको उसको इमान्दारितालाई सम्मान गर्दै म उसलाई त्यसदिनदेखि साइलो (सानोभाइ) भनि सबोधन गर्छु ऊ पनि मलाई आचे (दिदी) भन्छ |
ऊ धुवाँमा उडिरहेको आफ्नै मृत्युको छायाँ समेतलाई अनदेखा गर्दै चुरोटको धुवाँभित्र हरपल डुबिरहन्छ | उसलाई हेरेर म अनुमान लगाउँछु पक्कै यो साइलोले भविष्य भुलेर वर्तमानमा भरपुर जिउन जानेकै हो |
नत्र छेउमै लडिरहेको त्यो मार्बोरो चुरोटको बट्टाभरि देखाइएका डरलाग्दा तस्बिरहरूमा ध्यान कहिल्यै जाँदैन त ? जहाँ क्यान्सरले बिरूप भएका डरलाग्दा फोक्सो, घाँटी र पर्लक्क पल्टिएको जिब्रोसँगै "धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ" भनि लेखिएको छ | उसले मिल्काएको दूषित धुवाँ चिसो बतासले म तिर हुत्याएपछि म मृत्युको भयले लखेटिरहेको मान्छे सावधानी अपनाउँदै उसले चाल नपाउने गरी अलिक टाढा सर्छु | उसलाई देखेर म एउटा विगत सम्झन्छु, एकपल्ट म नेपाल गएको अवसरमा स्वास्थ्य परीक्षण गरेकी थिएँ | त्यसबेला डक्टरले मलाई तपाईं चुरोट खानुहुन्छ ? भनेर सोधेको थियो |
उत्तरमा मैले पिउँदिन भनेँ तर यहाँको रिजल्ट पेपरमा त चुरोट पिएको देखिन्छ | म अचानक उहाँको त्यस भनाइले तर्सेकी थिएँ अनि मैले भने, 'म जहाँ काम गर्छु त्यहाँका जम्मै स्टाफहरू चुरोट पिउँछ्न् |' अहो ! यहाँलाई त्यसैको असर परेको हो चुरोट पिउनेहरूको वरीपरी रहनु धेरै हानीकारक छ । 'चुरोट तान्ने मान्छेमा भन्दा चुरोट नतान्ने मान्छेले धेरै धुवाँ तान्छन् । त्यसैले चुरोट तान्नेको नजिक नरहनुस्' उहाँको भनाइलाई हुन्छ भनेर समर्थन गरेथें तर जागिरको कारण अझसम्म चुरोट तान्ने मान्छेहरूबाट टाढा भाग्न सकेकी छुइनँ |
अब हाम्रो ब्रेक टाइम सकिएको छ । हेर्दा ५०,५२ जस्तो देखिने मेरो ४२ वर्षे ताइलोक यान उर्फ हङकङ यान सानो साइलो उठेर काममा लाग्यो |
म उसको भाषामा नेफई (नेपाली) दिदी के ऊ धेरै चुरोट तानेरै चाँडो बुढो देखिएको हो त ? भनि सोचेर टोलाइरहेँ |