लन्डन । इंग्ल्यान्डको ‘सी’ टिम र नेपालको राष्ट्रिय टोलीबीच आगामी मे ६ तारिखमा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि अनलाइन टिकट बिक्री खुला भएको छ ।
बेलायतस्थित व्यावसायिक फुटबल क्लब अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम ईबीबीमा आउँदो मे ६ बैंक होलिडेका दिन नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्डको सी टिमबीच हुने खेलका लागि अनलाइन टिकट खुला भएको जानकारी दिएको हो । तर, प्रत्यक्ष टिकट चाहने व्यक्ति वा संघसंस्थाले कुमार गुरुङ र दिलरास गुरुङलाई सम्पर्क गर्न सकिने मैत्रीपूर्ण खेल सफल बनाउन अल्डरसट टाउन एफसीले संयोजक तोकेको एन्फा कास्की इंग्ल्यान्डका एम्बासडर कमल गुरुङले जानकारी दिए ।
टिकट दर १७ वर्षमुनिकालाई ५ पाउन्ड र त्यसभन्दा माथिको उमेर भएकालई १० पाउन्ड रहेको संयोजक गुरुङले बताए ।
https://aldershottownfc.ktckts.com/event/ald2324eng01/england-c-vs-nepal?fbclid=IwAR0q4v4y7raUce2pal920WEET80mi7_zYw9MDCPjTrJnKYgq7hNxv9FmVUY
खेल आयोजक अल्डरसट टाउन फुटबल क्लब र स्थानीय नेपाली समुदायका अगुवाहरुबीच मंगलबार तयारी बैठक बसेको थियो । खेल आयोजनाका लागि नेपाली समुदायका तर्फबाट तमु धीं यूके उपाध्यक्ष तथा कास्की एन्फाका यूके एम्बास्डर कमल कोने गुरुङलाई संयोजक तोकएको हो ।
अल्डरसट एफसी र समुदायबीच भएको तयारी छलफलमा क्लबका अध्यक्ष साहिद अजिम, नेपाली समुदाय संयोजक कमल कोने गुरुङ, एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ र पूर्व अध्यक्ष एवम् समाजसेवी सूर्य गुरुङ, एनआरएनए इंग्ल्याण्ड निवर्तमान अध्यक्ष एलबीजेड गुरुङ, शिव कल्चरल सेन्टर अध्यक्ष विक्रम भट्टराई, सहारा यूके पूर्व अध्यक्ष कुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य दिलरास गुरुङ लगायतको सहभागिता थियो ।
प्रतियोगिताका लागि नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरी ३० जनाको टिम बेलायत आउनेछ । अप्रिल २९ मा नेपालको टिम बेलायत आइपुग्नेछ । यो ऐतिहासिक खेलका लागि क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग समन्वय गरिरहेको छ ।
अल्डरसट टाउन फुटबल क्लबले भूकम्पका बेला नेपालमा ३० हजार पाउन्ड खर्चेर दुई स्कुलसमेत पुनर्निर्माण गरिदिएको थियो ।