काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङसँग मंगलबार भेटवार्ता गर्दै अध्यक्ष बारक्लेले सीमित स्रोत र साधनका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गरे । नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
राखेप सदस्य–सचिव घिसिङले अध्यक्ष बारक्लेसँगको भेटवार्तामा खेल पूर्वाधारका विषयमा चासो व्यक्त गरे । भेटका अवसरमा नेपालको क्रिकेटको अवस्था, सम्भावना र आईसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो । सदस्यसचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताए ।
सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रंगशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आईसीसी अध्यक्ष बारक्लेलाई अवगत गराए ।
नेपाल र बंगलादेशले सन् २०२७ मा संयुक्त रूपमा आयोजना गर्ने यू१९ महिला टी२० विश्वकपका लागि आईसीसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा धन्यवाद दिए ।
सदस्य सचिव घिसिङले ‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप पुरुष टी२० प्रतियोगिताका लागि आईसीसीले राम्रै सहयोग गरेको जानकारी पाएको उल्लेख गर्दै नेपालले पनि यु१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेको बताए । नेपलको तर्फबाट प्रतियोगिता आयोजनाको तयारीमा कुनै कसर बाँकी नराख्ने सदस्यसचिव घिसिङको भनाइ थियो ।
सदस्यसचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइ दिन अध्यक्ष बारक्लेसँग आग्रह गरे । नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगको आवश्यकता रहेको उनको भनाइ थियो ।
भेटमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी थिए ।