मनभरि नानाभाँती कुरो खेलाउँदै एमटीआर (जमिनमुनि कुद्ने रेल) बाट एडमिर्ल्ट्रीमा फुत्त निस्कन्छु | पारि याउ मातेईबाट रेलको बाटो हुँदै समुद्र तरि वारि आउनु मेरो दैनिकी जो बनेको छ अचेल | अरुजस्तै काउलून निवासी म, मेरो कर्मथलो राजधानीमा छ भन्नु पो उचित होला कि ! हुन त, प्राय: जसोको कर्मथलो वारि हङकङ नै हुने गर्छ |
सेन्ट्रल हङकङको राजधानी हो | यहाँ थुप्रै रेस्टुरेन्ट बार, कफी सप र उद्योगधन्दाहरू रहेका छन्, उस्तैगरी धनी, उद्योगपति, क्यासिनो मालिकदेखि लिएर विदेशीहरूको समेत बसोबास बाक्लै रहेको पाइन्छ | दोकान बजारतिर प्राय:ले अंग्रेजी बोल्छन् | काउलून, न्यु टेरिटोरी र लान्ताऊ आइल्यान्डभन्दा सभ्य लाक्छ्न् यहाँका मान्छे |
मलाईभन्दा हतार भएजस्तै कयौं टुक्रामा विभाजित बादलका टुक्राहरू पन्छाउँदै पन्छाउँदै घामको किरण खसिसकेको हुन्छ तल धर्तीमा | घामले बादल छिचोल्नु जतिकै गाह्रो छ मलाई एमटीआर स्टेसन भित्रको भिड छिचोल्नु | छिट्टो छिट्टो भीड छोचोल्दै आफै हिँड्ने स्क्यालेरमा पनि हिँड्दै दौडेर प्यासिफिक प्लेस प्लाजाको ४ तलामा पुग्छु |
साथीहरू आइसकेका हुन्छन्, चौसान ताइलो टाउकेलाई अभिवादन गर्छु ! टुप्पामा मेरो नाम छापिएको अथवा म त्यहाँको कामदार हुनुको आभास दिलाउँदै कार्ड होल्डरमा झुण्डिरहेको कार्ड झिकेर मेसिनमा छिराएर उपस्थितिको छाप ठोक्छु | मैले गर्दै गरेको काम केही महिनालाई रोकिन पुगेकोले फेरि काम सुरु नभएसम्म म यो ठाउँमा पार्टटाइम गर्न पुगेकी छु |
पल्लो कुनाको टेबलबाट म्यानेजरले मलाई हेर्दै भित्ताको घडी हेर्छ अनि खोई कुन्नी के के सोचेर हो ! फिस्स हाँस्छ | म झन्डै ढिलो भएकोले हाँसेको हुनु पर्छ | म उसको मुस्कानको फ्यान नभएकोले बेवास्ता गर्दै कार्ड हानेर फेरि कागजमा पनि मेरो नाम लेखेर हस्ताक्षर गर्न थाल्छु | त्यतिखेर म म्यानेजरको बिल्कुल नजिक हुन्छु अघि टाढा भएकोले सुन्दैन कि भनेर बाँकी राखेको "चौसान" (गुड मर्निङ्ग) भन्छु | ऊ खुसी भएझैं फेरि मुसुक्क मुस्कुराउँदै चौसान भन्छ | मान्छेलाई खुसी हुन कुनै ठूलो कुरो चाहिँदैन रैछ | सोच्दै दुई जोडी डाक्टरी पन्जा (पातलो प्लास्टिकको पन्जा) झिकेर अलप हुन्छु | टाउकेले दुई जोडी पन्जाले दिनभरि पुर्याउने भनेकोले उसको सामू आज्ञाकारी झै बनिदिन्छु | नत्र त कम्तीमा ४ जोडी त झिकेरै छाड्छु ! त्यसरी ! बिहान ७.४५ मा हाजिरा चढाएर निस्केको मान्छे म साँझ ५.४५ मा मात्र पुग्छु त्यो अफिसमा ।
त्यतिखेर घामले पनि मै जस्तो आफ्नो ड्युटी पूरा गरेर माथि पिक डाँडाको टुप्पा नाघिसकेको हुन्छ | उसले जमिनमा ओर्लेर क-कसको लागि के-के काम गर्यो ? को कोसको फूलहरूलाई भिटामिन दियो ? कुन कुन जलचर, थलचर जगतलाई आवश्यक तापक्रम दियो ? आदि इत्यादि सोच्दै ढाड देखाएर उकालै उकालो गइरहेको घामको छायाँ हेर्दै फेरि बिहान जहाँबाट फुत्त निस्किएँ त्यहींबाट भित्र पसेर अलप हुन्छु |
उहिले मेरी युय्यूले (बोजु, हजुर आमा) भन्नुहुन्थ्यो, (ला-दुखे, नाम् दुखे ) "जून घामले जस्तो दु:ख अरु कुनै ग्रहले पाउँदैनन्" कसरी बोजु ? म बोजुको बोली भूँईमा खस्न नपाउँदै प्रश्न गर्थें | बोजु ! बिना कुनै दिग्दारी भन्नुहुन्थ्यो | लु अङ्ग्गा मेनेनिङ्ग खेनीइ खेप्साम्मे ! (लु म भन्छु तिमीहरू सुन ) अहिले हाम्रो बोलीपिच्छे अंग्रेजी मिस्सिए झैं त्यो बेला बोजुको बोलीपिच्छे लिम्बु भाषा मिसिन्थ्यो | तर लिम्बू भाषा एकातिर पन्छाएर पर्वते मात्र सुन्नु हो भने प्रस्ट हुन्थ्यो बोलीमा |
त्यसैले होला, गाउँका सबै भन्थे 'हल्दारनी त जिल्ला छेउमा हुर्केको औलको केटी हो अनि त पर्वते (पेनिपान) राम्रो बोल्छ, हुन पनि हाम्रो गाउँमा लिम्बू भाषाबाहेक अन्य भाषा बोलिन्दैन्थ्यो | म पनि मेरै बोजुबाजेले मात्र पेनिपान जान्दछन् भनेर घमण्ड गर्थें |
हाम्रो भेगमा वरिपरि एक/दुई घर भएका गैरलिम्बूहरू पनि सबै लिम्बू भाषा नै बोल्थे हामीसँग | उम्ह ...के भन्न खोज्दाखोज्दै कता कुरा लगारें ? अँ ! साँच्चै मेरो बोजुको माइत ताप्लेजुङ बजार छेऊ नाखोलेंग मियाखा हो है मियाखा साँइली भन्थे | औलको त भने कहाँ कुन औलको हो भनि मनमा खुल्दुली हुन सक्छ |
अनि मेरो बोजु अगाडि भन्नुहुन्थ्यो | घाम पृथ्वीको सबै कुनामा पुग्नु पर्छ नत्र जलचर, थलचर, चराचर जगत कोही बाँच्दैनन् | म फेरि सोध्थें बोजु चराचर भनेको के हो ? बोजुले प्रस्ट्याउन जान्दैन भनेर हो कि हतार बाजेले "चराचर, थलचर, जलचर भनेको सबै प्राणी हुन् | पृथ्वीमा रहेका सास भएका जति पनि प्राणी छन् ती सबै हुन् |
थलचर भनेको जमिनमा बस्ने, जलचर भनेको पानीमा बस्ने र चराचर भनेको रुखमा बस्ने उड्न सक्ने पखेटा भएका चराहरू | त्यसमा एक प्रतिभाशाली र ज्ञानी थलचर प्राणी हामी मान्छे पनि हौँ | बाजेले अब यिनीहरूले यो कुरो पनि सोध्छन् भनेझैं सोध्दै नसोधी थप प्रष्ट्याउनु भो | हामी झन् उत्साहित हुँदै अघि अब के कथा भन्लान् बाजेबोजुले भनि कान ठाडाठाडा बनाएर सुन्थ्यौं |
अनि बोजु भन्नुहुन्थ्यो | यतिखेर यहाँ रात पर्यो नि अर्को अम्रिका भन्ने गाउँमा घाम लागेको छ | बोजुले त्यसबेला आफ्नै आँखाले अमेरिका देखिरहेझैं गरी भन्नुहुन्थ्यो । मेरो बोजुको अम्रिका गाउँ त बिसाल महादेश पो रैछ | जुन बेला थाहा पाएँ त्यो बेला मेरो बोजु आफै महाप्रस्थान भई उहाँको आफ्नै गाउँ अम्रिका पुगिसक्नुभएको थियो |
नत्र भन्ने थिएँ बोजु "अम्रिका होइन अमेरिका अनि अमेरिका गाउँ होइन घामले परिक्रमा गर्ने पृथ्वीको झन्डै आधा भाग, ठूलो महादेश हो" | अनि मेरो बोजुले भन्नेथ्यो जान्ने भैस, हिजो अस्तिको चिचिला ! मैले पनि अम्रिका हो कि अमेरिका कहाँ सानो भनेको छु त ? घाम यहाँ अस्ताएर उता उदाउने गाउँ सानो हुन्छ त लाटी ?
त्यो बेला अरे ! वाह ...हाम्रो बोजु त स्कुलको सर भन्दा जान्ने पो रैछ है ? भन्दै भाइ र म काने खुशी गर्थ्यौं | अब यहाँ अस्तायो भनिन्छ उता पुगेर झुल्किन्छ घाम | उता अस्तायो भन्छन् यहाँ पुगेर झुल्किन्छ अनि कति हतार दौडिन्छ होला त घाम बिचरा ? हामी राति सुत्नु पर्छ र दिनमा उठ्नु पर्छ भन्नेसम्मको मानसिकताको विकासमात्र हुँदै गरेको केटाकेटी ! हो त है घाम त सुत्नै नपाउने पो रैछ ? भन्दै छक्क पर्थ्यौ | हामी दुई अबोध बालक बोजु बाजेको यस्तै, यस्तै अनेकखाले कथा सुन्दै थाहै नपाई चुपचाप हुर्किरह्यौ |
अनि बोजु जून पनि त्यस्तै दु:ख पाउँछ त ? सबैभन्दा धेरै प्रश्न मै सोध्ने गर्थें | भाइ त 'ट्वाल्ल परेर सुन्ने सन्तोकी टाईपको, त्यसो म होइन मेरो बोजु भन्नु हुन्थ्यो भाइलाई | म कुरो सोधेरै दिक्क लाउँथे सायद !
अनि लाटी ! त्यति कुरो त आफै बुझ्ने कोसिस गर्न न ? जहाँ जहाँ रात पर्छ त्यहाँ त्यहाँ जून उदाउनु पर्दैन त ? घामले म अस्ताउने बित्तिकै तिमी आकाशमा निस्केर जे जति सकेको उज्यालो पृथ्वीलाई दिनु | मान्छेहरू लडी मर्छन् नत्र भनेर घामले अह्राएको हुन्छ नि जूनलाई बोजु भन्नुहुन्थ्यो | त्यो बेला गाउँ डुल्न गएको काका फुपूहरू जून लागेको बेला सिटा (सुकेको बाँस चिरेर बनाएको फप्लेटो) नबाली जूनको सहारा लिएर घर फिरेको याद आउँथ्यो | जुनेली रातमा हामी पनि आँगनमा निस्केर खुब खेल्थ्यौं |
बोजुको कुरो सुनेर म झन् तीन छक पर्छु ! अनि बोजु घाम घरमूली हो आकाशको ? फेरि सोध्छु | अनि हो त नि घाम संसारकै ठूलो र शक्तिशाली ग्रह हो | ए त्यसो त बोजु बोजु घामको पनि छोराछोरी, नातानातिनी छन् होला है ? अचानक भाइले सोध्यो | आरे यो त निदायो होला भनेको त सुन्दै पो रैछ | हाहाहा .....ठूलो स्वर निकालेर बाजे हाँस्नु भो |
"लु रो कुम्मै अल्ल मेतेसेओ केगथान्" आन्देन्न थ्यांग केहेक्तुई (लु है आमा अब भन है तेरो कथा तेरो नातानातिनीलाई नत्र छाड्दैनन् है अब यिनीहरूले, अघि किन सुरु गरिस्) ? बाजेले यसो भन्दै लामो हाई काढ्नु भो | सायद बाजेलाई निद्रा लागिसकेको थियो |
मभन्दा कडा प्रश्न गर्ने भाइको अनुहार अँध्यारोमै टुलुटुलु हेरिरहें ऊ अब बोजुले के भन्ने हो भन्दै एकोहोरो भएर बसिरहेथ्यो | छन् नि किन नहुनु ? ऊ माथि हेर त आकाशमा ताराहरू टिलिलिलि टल्केको हो तिनीहरू नै हुन् घाम र जुनका सन्तान | कुनचाहिँ जेठा होला है बोजु ? मैले फेरि तारा हेर्दै सोधें |
ऊ....माथि धेरै टल्केको चाहिँ जेठी छोरी हो ऊ तरुनी भाकोले शृंगारपटार गरेर राम्री बनेको छ र धेरै टल्केको ! बाजेले बोजुको अनुहार हेरेर हाँसेको हुनु पर्छ त्यो बेला, बोजुले आफ्नो औँला मुखमा राखेर चुप्प .....भनि इसारा गर्नु भो |
अलिकति उल्लास र अलिकति उमंग बोकेर अँध्यारो चिर्दै उज्यालो छर्न घाम तल धर्तीमा ओर्लिएपछि त्यो ताराहरू जूनसँग सुत्छन् आकाशमा | ए त्यै भएर दिउँसो नदेखिएको रैछ है युय्यू ...(बोजु) म आफै युय्यू हुनेखेर युय्यूको कथा सम्झँदै पृथ्वीको वल्लो पाटोमा आफ्नै कथाव्यथा बोकेर हत्केलामा भविष्य अड्याएर विद्यालयबाट फिर्दै गरेका एक हुल केटाकेटीहरूको हूलमा मिसिन्छु |
तमोरमा काबेली मिसिएपछि काबेलीको अस्तित्व मेटिएर मात्र पानी बने जस्तो, म पनि उनीहरूसँग मिसिँदा कलिली स्कुले केटी भैदिए पो उनीहरूसँग मिसिजानुको अर्थ खुल्थ्यो ! ब्यर्थै उनीहरूको अनुहारमा आफ्नै अतितको छायाँ खोज्दै असन्तुष्टिको निश्वाश छाडिरहे | ट्रेनको समय भयो, आँखामा पहेँलो बत्ति बाल्दै आइपुग्यो । हामी फेरि हुलै ट्रेनमा पसेर समुद्र तरी वारि काउलूनको चीम शा चुई पुगिसकेका हुन्छौं |
पाँच जनामध्येको एउटी केटी छुट्ने बेला मलाई हतार हिँडेको देखेर हो या अनौठो देखेर हो मुसुक्क हाँस्छे ! म ठ्याक्कै शंकर लामिछानेलाई झरी परेको दिन छाता दिने विद्यार्थी केटीजस्तै मायालु देख्छु र फर्कीफर्की हेर्छु उसलाई...अचानक म केही भारी बस्तुसँग ठोकिन्छु, दुखेको कुहिनो छाम्दै हेर्छु एउटा अधबैंशे चाइनिज "काउछोवा...." ( कस्तो मान्छे हो ) भन्दै कराइरहेको हुन्छ | म, तै हुम्चि आ...सिङ् साङ्ग' (सरि मलाई माफ गर्नुस् महाशय) भन्दै बेपत्ता भाग्छु | म रिसाइरहेका मान्छेबाट उहिल्यैदेखि अहिलेसम्म भागिरहेको नै हुन्छु, फेरि पनि भागेर आफूलाई बचाएको महसुस गर्छु ।
अन्दाज गर्छु ती मानिस निर्माण क्षेत्रमा काम गर्ने कामदार हुनु पर्छ र मेरो कुहिनो ठोक्किएको त्यो सारो वस्तु उसको लन्च बक्स हुनु पर्छ जसलाई झोलामा बोकेर हतार घर फर्किरहेथ्यो | धन्न खालि थियो नत्र घाइते नै हुने थिएँ |
हङकङको पलपलको यो भीड देखेर सम्झन्छु अस्ति भर्खर हङकङ सरकारले अबदेखि बच्चा जन्माउने हरेक दम्पतीलाई २० हजार डलर अनुदान दिने भनी पास गरेको कानुन | यति सानो टापुमा त्यसै त यत्रो भीड छ अझ पैसाकै निम्ति अब कति बच्चा जन्मिने हुन् ? अबको ४/५ वर्ष पछि झन् एमटीआरभित्र कत्रो भीड हुने हो ! त्यो बेला भलै त्यो भीडमा मिसिएर कल्पनामा युय्यू सम्झिने म नरहुँला या कतै नाता नातिनालाई आधुनिक युय्यू भएर कथा सुनाउँदै रहुँला | किनकि म ! मेरी युय्यूको अम्रिकालाई अमेरिका र ताराहरू घाम जुनका सन्तान नभएर छुट्टै विशेषता भएका ग्रहहरू हुन् भन्नेसम्म बुझेको आधुनिक युय्यू भइसकेकी छु |
बरु मलाई लाग्छ ! सृष्टिकालमा झगडा गरेर एक अर्का कहिल्यै नभेट्ने अथवा एक अर्काले अनुहार नहेर्ने कसम खाएर छुट्टिएको हुनु पर्छ घाम र जून | र त एउटा राति उदाउँछ, एउटा दिउँसो उदाउँछ | म साँझ-बिहान कर्म गर्न दौडेजस्तै घाम जून र ताराहरूले पनि आ-आफ्नै ठाउँबाट कर्म गरिरहेछन् । सायद ! उनीहरू छन् र नै हामी प्राणी पनि छौं यो संसारमा ।
ताप्लेजुङ्ग
हाल हङकङ ।