धरान। बुढासुब्बा गोल्डकपको २४औँ संस्करणको तयारी पूरा भएको छ ।
फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले बिहीबार जनाएको हो । प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछ। फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् ।
फागुन २८ मा नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब तथा फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुनेछ ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
सर्वाधिक गोल गर्ने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष तामाङले बताए । प्रतियोगिता सञ्चालनका लागि ६६ लाख ५५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।