नुवाकोट । पञ्चकन्या जिल्लाव्यापी क्रसकन्ट्री दौडको उपाधि एलिसा तामाङ र सुदीप राईले जितेका छन्।
पञ्चकन्या गाउँपालिका–३ की एलिसाले महिला ११ किलोमिटर दुरी १ घण्टा १३ मिनेट ४१ सेकेन्डमा पूरा गरिन्। पञ्चकन्या–२ की मेलिना पौडेल १ घण्टा २२ मिनेट २२ सेकेन्डमा पूरा गर्दै दोस्रो र पञ्चकन्या–५ की सुष्मा कार्की १ घण्टा २४ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए।
सोही दूरीको पुरुषतर्फ लिखु गाउँपालिका–४ का सुदीप ४७ मिनेट १४ सेकेन्डमा दौड पूरा गरेर पहिलो बने। पञ्चकन्या–३ का सविन थापा दोस्रो र म्यागाङ गाउँपालिकाका वीरसिंह तामाङ तेस्रो भए।
उनीहरूले क्रमशः ४७ मिनेट ३३ सेकेन्ड र ४९ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। महिला र पुरुष दुवैतर्फ विजेताले २२ हजार, उपविजेताले १६ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गरे।
पञ्चकन्या पालिकास्तरीय छात्रछात्रा ५ किमी दौडमा वडा नं १ की सविना राई ३४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै प्रथम बनिन्। वडा नं ४ की सावित्री थापा ३४ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै दोस्रो र वडा नं ३ की रुविना तामाङ ३४ मिनेट ४० सेकेन्डमा पूरा गर्दै तेस्रो भए।
सोही दुरीमा छात्रतर्फ किरण तामाङ २३ मिनेट १३ सेकेन्डबाट पहिलो भए। सुरज तामाङ २४ मिनेट २२ सेकेन्डबाट दोस्रो र सुदेश तामाङ २५ मिनेट २६ सेकेन्डबाट तेस्रो भए। शीर्ष तीन स्थानका विजेताले क्रमशः ११ हजार, ७ हजार र ४ हजार रुपैयाँ पुरस्कार पाए।
पञ्चकन्या गाउँपालिका ३ र ४ स्थित घ्याङस्वाँरा पार्कलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धन र युवालाई खेलकुदप्रति आकर्षित गर्न पञ्चकन्या जनकल्याण युवा समाजले शनिबार दौड आयोजना गरेको हो।
११ किमी दुरीको दौड लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झकडेभित्ता, गाङ्तानटोल, घ्याङस्वाँरा सोही रुट हुँदै घलेभन्ज्याङमा टुंगिएको थियो।
५ किमी दुरीको दौडमार्ग लाकुरीभन्ज्याङ, थुमडाँडा, डाँडाटोल, घलेभन्ज्याङ, झिँगानेटोल, झगडेभित्ता सोही रुट हुँदै घलेभन्ज्याङ रहेको थियो।
यसैबीच, प्रतियोगिता समापनमा नेपालका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो।
७२ वर्षको उमेरमा पनि दौडका प्रतियोगितामा सहभागी भएर युवालाई दौडमा लाग्न प्रेरित गरिरहेकाले उनको खेलप्रतिको समर्पणको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष टीकाराम तामाङले बताए।
प्रतियोगिताको उद्घाटन गर्नुका साथै विजेतालाई प्रमुख अतिथि पूर्वमन्त्री हितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए।
प्रतियोगितालाई एथलेटिक्स परिवार नेपालको प्राविधिक सहयोग रहेको थियो।