काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन्।
शनिबार पोखरामा भएको म्याराथनमा ४२.१९५ किलोमिटर दुरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गर्दै जुलियास प्रथम भएका हुन्। उनले नगद ५ लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको प्रतियोगितामा केन्याकै इसाक किहारा कमिरी दोस्रो र एडविन किप्लागट तेस्रो भए। कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेन्ड तथ किप्लागटले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा सो दुरी पार गरेका थिए।
उनीहरूले क्रमशः नगद ३ लाख र २ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। ३१ विदेशीसहित १०८ जना धावकले सहभागिता जनाएको म्याराथनमा केन्याली धावकले वर्चस्व जमाए।
यसैगरी, महिला हाफ म्याराथनको उपाधि नेपालकी सन्तोषी श्रेष्ठले जितेकी छन्। उनले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गरिन्। राममाया बुढाले १ घण्टा १९ मिनेट २२ सेकेन्डमा पार गरेर दोस्रो तथा फुलमती राना १ घण्टा २१ मिनेट ०७ सेकेन्डमा पार गर्दै तेस्रो भए।
विजेता सन्तोषीले नगद १ लाख ५० हजार, उपविजेता राममायाले १ लाख र तेस्रो फुलमतीले ७५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
यस्तै, १० किलोमिटर महिलातर्फको उपाधि आशा रावतले जितेकी छन्। सो स्पर्धामा सीमा चौधरी द्वितीय र तथा नम्रता गुरुङ तृतीय भए। रावतले ३० हजार, चौधरीले २० हजार तथा गुरुङले १५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
१० किलोमिटर पुरुष दौडमा त्रिभुवन आर्मीका टंकबहादुर कार्की प्रथम भए। सुवास कार्की द्वितीय र सञ्जीव नेपाली तृतीय भए।
कार्कीले ३० हजार, सुवासले २० हजार र नेपालीले १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
५ किलोमिटर छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, तालवाराही माविकी गीता श्रेष्ठ द्वितीय र एञ्जिला जिटी तेस्रो भए। छात्रतर्फ तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोश्रो र इश्वर ढकाल तेस्रो बने
५ किलोमिटर महिला भेट्रान दौडमा चित्रा गुरुङ प्रथम, विष्णुकुमारी गुरुङ द्वितीय र चेतमाया पंगेनी तृतीय भए। पुरुष भेट्रान दौडमा कपिल भट्ट प्रथम, आइलाल शाही द्वितीय र निमबहादुर थापा तृतीय भए।
५ किलोमिटर छात्र–छात्रा तथा भेट्रान दौडमा प्रथम हुनेले १५/१५ हजार, दोस्राले १०/१० र तेस्रा हुनेले ७/७ हजार प्राप्त गरे।