लन्डन । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) बीच तीन वर्षका लागि सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि प्रायोजन सम्झौता भएको हो ।
मंगलबार पोखरामा आयोजित एक कार्यक्रमबीच एनआरएनएका आईसीसी सदस्य तथा गोर्खा वेल्फेयर टाक्स फोर्सका अध्यक्ष ले.रि चन्द्र गुरुङ र मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सम्झौतापत्र आदानप्रदान गरेका थिए । सम्झौताअनुसार एनआरएनएले हरेक वर्ष ७ लाख ५० हजार रुपैयाँ प्रदान गर्नेछ ।
एनआरएनएले फागुन ५ गते हुने १८औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनसमेत तीन वर्षका लागि सहयोग गरेको हो। एनआरएनले म्याराथनका लागि सेन्सर बोर्डसमेत मञ्चलाई हस्तान्तरण गरेको छ। सम्झौतापश्चात् बोल्दै ले.रि गुरुङले शुरूआती तीन वर्षका लागि जोडिए पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे। उनले पोखरा म्याराथनसँग बीचमा विविध कारणले छुटे पनि पुनः जोडिन पाउँदा खुशी लागेको बताए। पोखरा म्याराथन विश्वकै उत्कृष्ट म्याराथनको रूपमा परिचित हुनेमा आशावादी रहेको उनको भनाइ छ।
यस्तै, एनआरएनले पोखरा म्याराथन जित्ने नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि सहयोग गर्ने र आगामी दिनमा एनआरएनए टिमले पनि प्रतिस्पर्धीको रूपमा सहभागिता जनाउने बताए। म्याराथनसहित अन्य विधाका धावकमा चिप्सको प्रयोग गरिने मञ्चका सचिव केशव पाठकले बताए। मञ्चले एनआरएनएसँग १४ वर्षपछि पुनः सहकार्य गरेको हो। प्रायोजन सम्झौताले म्याराथन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले रहने बताए।
म्याराथन व्यवस्थापन कठिन भएको र त्यसका लागि एनआरएनएले प्राविधिक सहयोगसमेत गरेकाले थप टेवा पुगेको उनको भनाइ थियो। मञ्चका निवर्तमान अध्यक्ष एवं अन्तर्राष्ट्रिय समन्वय संयोजक तेजबहादुर गुरुङले यसको श्रेय एनआरएनए यूकेका पूर्वअध्यक्ष एवं एआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङलाई दिए। सूर्य गुरुङ कुनै बेला पोखरा रंगशालाको पर्खाल निर्माणका यूके संयोजक समेत थिए। उनकै पहलमा एआरएनए आईसीसीका अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष हेमराज शर्मा, उपाध्यक्ष एवं स्पोर्टस टास्क फोर्सका अध्यक्ष रोशन कार्की, महासचिव गौरी जोशी र सदस्य ले.रि चन्द्र गुरुङबीच छलफल भएको थियो। उक्त छलफलपछि एआरएनए पोखरा अन्तर्राष्ट्रिय म्याराथनसँग जोडिएको हो। “यो निकै लामो छलफल थियो,” निवर्तमान अध्यक्ष गुरुङले भने, “यसले विश्वभर छरिएर रहेका नेपालीलाई वर्षको एक पटक पोखरा म्याराथनमा प्रतिस्पर्धीका रूपमा सहभागी हुने वातावरण बनेको छ।”
कार्यक्रममा एनआरएनए आईसीसीका सदस्य हितमान गुरुङ, यूकेका पूर्वअध्यक्ष मुक्षेत्र गुरुङ, ले.रि कुसाङ गुरुङ, सहारा यूकेका अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ र सल्लाहकार योगेश गुरुङको सहभागिता थियो । यस्तै, संस्थापक अध्यक्ष खड्ग रानाभाट, द्वितीय उपाध्यक्ष खेम गुरुङलगायत पनि सहभागी थिए।
यसैबीच, म्याराथनमा गण्डकी प्रदेशतर्फ प्रथम हुने खेलाडीको पुरस्कार मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटको परिवारले प्रायोजन गर्ने भएको छ। मंगलबार नै उनले आफ्नी श्रीमती मणिपाल शिक्षण कलेजकी प्रमुख सकुसिंह रानाभाटको तर्फबाट प्रायोजन गर्ने जनाएका हुन्।