पोखरा। सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि २३ औं आहा रारा पोखरा गोल्ड कप सुरु हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र थ्रि स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
माघ ९ देखि २० सम्म सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय फुटबल प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । जसमा विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ, मनाङ मस्र्याङ्दी, संकटा, मछिन्द्र, चर्च ब्वाइज युनाइटेड, जावलाखेल युथ, थ्रि स्टार, नवलपुरको राइजिङ फुटबल क्लब, भुटानको पारो फुटबल क्लब र आयोजक टिम छन् ।
विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार जित्ने छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ हो । प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार रुपैयाँ आम्दानी हुँदा १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । क्लब अध्यक्ष केशवराज बरालले प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा खर्चिने बताए ।
सहारा क्लब पोखराले यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट आयुष घलानलाई सम्मान गर्ने भएको छ । ५० हजार राशिको उक्त पुरस्कार उद्घाटन अवसरमा हस्तान्तरण गर्ने कार्यक्रम छ ।
प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने छन् । पोखरा महानगर प्रतियोगिताको संरक्षक हो ।