पोखरा । सहारा क्लब पोखरा आयोजनामा पोखरा रंगशालामा पर्सि ९ देखि सुरु हुने २३ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहरा क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रतियोगिताबारे विस्तृत जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइए अनुसार पहिलो दिन आयोजक सहारा क्लबले थ्रि स्टारको सामना गर्ने भएको हो । दोस्रो दिन माघ १० मा विभागीय त्रिभुवन आर्मी फुटबल क्लब र राइजिङ स्टार फुटबल क्लब तथा माघ ११ मा मछिन्द्र र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १२ मा विभागीय नेपाल एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने छन् ।
भारतको दिल्ली फुटबल क्लब नआउने भएपछि पहिलो चरणको अन्तिम खेलमा विभागीय एपिएफलाई स्थान दिइएको आयोजकले जनाएको छ । साविक विजेता संकटा, भुटानको पारो फुटबल क्लब, मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटले सिधैं क्वाटरफाइनल खेल्ने छन् । १२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल २० गते हुनेछ ।
“खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३औं संस्करणमा विजेता टीमलाई १२ लाख १ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता टिमलाई ६ लाख १ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागी प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम दिने, प्रि- क्वाटर विजेता र पराजित दुवै टिमलाई २० हजार रुपैयाँ दरले, क्वाटर फाइनल विजेता पराजित दुवै टिमलाई ३० हजार रुपैयाँका दरले र सेमिफाइनल विजेता पराजित दुवै टिमलाई ५० हजार रुपैयाँका दरले उपलब्ध गराइने छ । साथै प्रतियोगितामा सहभागी टिमको दैनिक भत्ता र आतेजाते यातायात खर्च आयोजक संस्थाले नै व्यहोर्ने जनाइएको छ । प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारसहित कुल नगद पुरस्कार राशि २८ लाख ३२ हजार ५ सय ५५ रुपैयाँ खर्च हुने जनाइएको छ ।
प्रतियोगितामा गेट टिकट प्रत्येक प्रि-क्वाटर, र क्वाटरफाइनलका खेलहरुको १०० साधारणतर्फ, भिआईपीतर्फ २००, सेमिफाइनल खेलहरुको २०० साधारणतर्फ र भिआईपीतर्फ ४०० र फाईनल खेलको ३०० साधारणतर्फ र भिआईपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।